जनता टाइम्स

२८ असार २०८२, शनिबार २०:२७

प्रधानमन्त्री ओलीद्वारा जग्गाधनी पुर्जा बितरण


साबित्रा दहाल/झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कन्काई नगरपालिकाका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू २ सय भन्दा बढीलाई नगरपालिकाले दिन तयार गरेको जग्गा धनीपुर्जाको वितरण कार्यको शुभारम्भ गर्नुभएको छ।

उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लामो समयदेखि आफूहरू बसिरहेको जमिनकाे स्वामित्वकाे प्राप्त होस भनेर पर्खिरहेका कन्काईबासीले जमिनको स्वामित्व प्राप्त गरेको र क्रमश: यसको वितरण गरिँदै जाने बताउनुभयो।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी व्यवस्थाका सम्बन्धमा लामो समयदेखि रहेका विभिन्न प्रकारका सबै समस्या र जटिलताको समाधान गर्न छिट्टै ऐन आउने पनि बताउनुभयो ।

कार्यक्रममा कन्काई नगरपालिका वार्ड नं ६ र ८ का ५ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूलाई प्रधानमन्त्री ओलीले जग्गा धनीपुर्जा वितरण गर्नुभएको थियो। सोही कार्यक्रममा २०६ जनालाई आज धनीपूजा वितरण गरिने कन्काई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो।

कार्यक्रममा भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले देशभरी नै भूमिहीनहरूका समस्यालाई सम्बोधन गर्न स्थानीय पालिकाले तदारुकता देखाउनुपर्ने औल्याउँदै आयोगको तर्फबाट तदारुकताका साथ काम गरिरहेको बताउनुभयो ।

 

कार्यक्रममा भूमि समस्या समाधान आयोगका झापा जिल्ला अध्यक्ष मदन अधिकारीले झापामा ५३ हजार हाराहारीले निवेदन दिएको जसमध्ये सबैभन्दा बढी शिवशतासी नगरपालिकाबाट निवेदन दर्ता भएको जानकारी गराउँदै यस वर्षको असार मसान्तमा झापाको कन्काई र अर्जुनधारा नगरपालिका गौरीगञ्ज र बुद्धशान्ति गाउँपालिकाका ६११ जनालाई धनीपूर्जा बितरण गरिने याेजना रहेकाे जानकारी दिनुभयाे ।

स्थानीय पालिकाहरूले प्रमाणीकरण गरेर पठाएको खण्डमा आगामी आर्थिक वर्षमा ३० हजार हाराहारीलाई धनी पुर्जा वितरण गर्ने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका कन्काई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले झापाको कन्काई नगरपालिकामा ७ हजार हाराहारीका परिवारको नाप नक्सा कार्य सम्पन्न भएको जनाउँदै २ हजार को हाराहारीलाई आगामी वर्षभित्रमा धनी पूजा वितरण कार्य गर्ने योजना रहेको बताउनुभयो।

कार्यक्रममा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मा. देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री मा. हिक्मत कार्की, झापा क्षेत्र नम्बर ४ का माननीय सांसद एलपी सामा लिम्बु, भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिमाल, राष्ट्रिय योजना आयोगका सदस्य गीता अधिकारी, कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीहरू शेरधन राई, उद्धव थापा, विभिन्न राजनीतिक पार्टीका जिल्ला नेताहरू, जिल्ला प्रशासन कार्यालयका प्रमुख गोपालप्रसाद अधिकारी, सुरक्षा निकायका जिल्ला प्रमुखहरू, मालपोत कार्यालय झापा र नापी कार्यालय झापाका कार्यालय प्रमुखज्यूहरू, विभिन्न राजनीतिक दलका नगर प्रमुखहरू पत्रकार लगायत जग्गा धनी पूजा लिन आएका परिवार लगायतकाे उपस्थिति रहेको थियो ।

कन्काई नगरपालिकाका नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले स्वागत शब्द स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन भूमि समस्या समाधान आयोग झापाका विज्ञ सदस्य लक्ष्मीप्रसाद आचार्यले सञ्चालन गर्नुभएको थियो।