काठमाडौं, पुस १५ । काठमाडौंका होटलहरूमा ग्राहकको मागअनुसार युवती सप्लाई गर्ने धन्दा फस्टाएको पाइएको छ । प्रहरीले युवती सप्लाई गर्ने समूहका एक व्यक्तिलाई पक्राउ गरी तीन सातादेखि गोप्य रूपमा अनुसन्धान गरिरहेको छ ।आफ्नै कारमा राखेर युवतीहरू सप्लाई गर्दै उपत्यकाका विभिन्न होटलहरूमा पुर्याउने र मोटो रकम असुल्ने समूह सक्रिय रहेको भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको हो ।
आफ्नै कारमार्फत होटल– होटलमा युवती सप्लाई गर्ने एक युवालाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेको छ । दोलखाको मेलुङ गाउँपालिका–१ पवटी घर भई बुढानलीकण्ठ नगरपालिका ६ कपन बस्दै आएका ३९ वर्षीय आकाश भनिने कुलबहादुर कार्की नाम गरेका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी (प्रहरी उपरीक्षक) तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । उनका अनुसार कार्कीलाई २० मंसिरमा वृत्त गौशालाले सरस्वतीनगरबाट पक्राउ गरेको हो ।
उनीमाथि अहिले मानव बेचबिखन तथा ओसारपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ । अनुसन्धान अन्तिम चरणमा पुगेकाले केही दिनमै टुंग्याएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी प्रहरीले गरेको छ । त्यसपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर हुनेछ ।कार्कीले ठमेल, गौशाला, गोंगबु तथा एअरपोर्ट अगाडिका होटलहरूमा युवती सप्लाई गर्ने गरेको अनुसन्धानबाट खुलेको एसपी भट्टराईले बताए । कार्कीले होटलमा ग्राहक खोज्ने व्यक्तिदेखि होटलकै स्टाफहरूसँग सम्पर्क गर्ने गरेको एक अनुसन्धान अधिकृतले बताए । उनले होटलसँग सम्बन्धित व्यक्ति र युवतीसँग पनि सम्पर्क गरी बीचमा बसेर काम गर्ने गरेको पाइएको प्रहरीले बताएको छ ।
कार्कीले होटलसँग सम्बन्धित व्यक्तिदेखि ट्याक्सी चालकहरूसँग समेत सम्पर्क गरेको प्रहरीको भनाइ छ । करिब ५० जना युवतीका तस्वीरहरू कार्कीले ट्याक्सी चालक, होटलका लागि ग्राहक खोज्ने व्यक्ति र होटलका स्टाफहरूलाई समेत उपलब्ध गराएको पाइएको एक अनुसन्धान अधिकृत बताउँछन् ।कार्कीलाई पक्राउ गर्दा उनको आइफोनमा ५० युवतीहरूको तस्वीरसमेत भेटिएको थियो । युवतीहरूको तस्वीर उपलब्ध गराएपछि होटलमा बस्न आउने ग्राहकहरूलाई ती तस्वीर देखाएर मोलमोलाइ गर्दै डिल गरेर युवती मगाउने गरिएको प्रहरीले बताएको छ । कार्की मात्रै होइन यस्तै शैलीमा धन्दा चलाउने अरू व्यक्ति पनि रहेको सूचना प्रहरीले प्राप्त गरेको छ । यो कुरा स्वयं कार्कीले समेत बताएको एक अनुसन्धान अधिकृत बताउँछन् । प्रहरीले भने अहिलेसम्म कार्की बाहेक अरूलाई पक्राउ गरेको छैन । अन्य समूह तथा व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।













प्रतिक्रिया दिनुहोस्