जनता टाइम्स

६ असार २०८३, शनिबार २०:०६

रामेछापमा लागुऔषध दुर्व्यसननीकाे सङ्ख्या बढ्दो, चालु आर्थिक वर्षमै २१ जनामाथि कारबाही


रामेछाप, असार ६। रामेछापमा लागुऔषध नियन्त्रण तथा न्यूनीकरणका लागि प्रहरीले आफ्नो सक्रियता बढाएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापमा शनिबार आयोजित लागुऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक वर्षमा ३ सय २९ जनाको परीक्षण गरिएको र तीमध्ये २१ जनामाथि कानुनी कारबाही गरिएको जानकारी दिइएको हो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजन प्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०८०/८१ मा लागुऔषधसम्बन्धी कसुरमा ८२ जनामाथि कारबाही गरिएको जानकारी दिनुभयो। यस्तै, आर्थिक वर्ष २०८१/८२ मा ४० जनामाथि कारबाही गरिएको र चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ३ सय २९ जनाको परीक्षण गर्दा २१ जना कानुनी कारबाहीको दायरामा आएको उहाँले बताउनुभयो।

उहाँका अनुसार प्रहरीले जिल्लाका विभिन्न स्थानमा नियमित निगरानी, सवारी तथा व्यक्तिको चेकजाँच, साथै लागुऔषधविरुद्ध सचेतनामूलक अभियानलाई तीव्रता दिएको छ। सो अवधिमा लागुऔषध ओसारपसार, बिक्री–वितरण तथा सेवनमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा लागुऔषधको बढ्दो प्रयोगले व्यक्ति, परिवार र समग्र समाजमा गम्भीर नकारात्मक प्रभाव पारिरहेको भन्दै यसको नियन्त्रणका लागि सुरक्षा निकाय मात्र नभई स्थानीय तह, शैक्षिक संस्था, अभिभावक तथा समुदायको साझा पहल आवश्यक रहेकोमा जोड दिइएको थियो।

प्रहरीले विशेषगरी युवापुस्तालाई लागुऔषधको दुष्प्रभावबारे सचेत गराउने उद्देश्यले विद्यालय, समुदाय र स्थानीय तहसँग समन्वय गरी नियमित रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूले लागुऔषध नियन्त्रणका लागि कानुनी कारबाहीसँगै रोकथाम, जनचेतना अभिवृद्धि र समुदायको सक्रिय सहभागितालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।