काठमाडौं, असार १७ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरको दिगो व्यवस्थापनका लागि एक करोड रुपैयाँ लागतमा ‘कुकुर होस्टेल’ सञ्चालनमा ल्याएको छ।
नगरपालिकाले बागलुङ–३ सिम्लेस्थित पाँच रोपनी सार्वजनिक जग्गामा ५० वटा कुकुर राख्न मिल्ने क्षमताको होस्टेल निर्माण गरी पहिलो चरणमा २० वटा बेवारिसे, बिरामी तथा अशक्त सामुदायिक कुकुरको उद्धार गरेर राख्न थालेको जनाएको छ।
नगरपालिकाका अनुसार होस्टेल निर्माणका लागि बागलुङ नगरपालिकाले ३५ लाख रुपैयाँ र मुख्यमन्त्री कार्यालयले ६५ लाख रुपैयाँ लगानी गरेका छन्। होस्टेलमा कुकुरको हेरचाहका लागि कर्मचारी, नियमित खानपान तथा आवश्यक स्वास्थ्य सेवाको व्यवस्था पनि गरिएको छ।
नगर प्रमुख वसन्तकुमार श्रेष्ठले छाडा कुकुरका कारण यात्रुहरूलाई टोक्ने, दुर्घटना निम्तिने तथा बजार क्षेत्रमा समस्या बढ्दै गएपछि होस्टेल निर्माण गरिएको बताउनुभयो। उहाँका अनुसार सामुदायिक कुकुरको बन्ध्याकरण अभियान पनि सँगसँगै सञ्चालन भइरहेको छ।
नगरपालिकाले घरपालुवा कुकुरको अनिवार्य दर्ता प्रणाली पनि लागू गरेको छ। कुकुरको पहिचान, खोप तथा औषधोपचारको व्यवस्था मिलाइएको छ भने दर्ता गरिएका कुकुर सडकमा भेटिएमा सम्बन्धित घरधनीलाई जिम्मेवार बनाइने जनाएको छ। कुकुर दर्ताका लागि २०० रुपैयाँ शुल्क तोकिएको छ।
नगरपालिकाले दुई वर्षअघि नै नीति तथा कार्यक्रममा सामुदायिक कुकुर व्यवस्थापनका लागि ‘कुकुर होस्टेल’ निर्माण गर्ने योजना समावेश गरेको थियो।













प्रतिक्रिया दिनुहोस्