जनता टाइम्स

२० पुष २०७७, सोमबार १८:३७

नेकपा ओखलढुंगाका अध्यक्ष खडका हटाइए, नयाँ अध्यक्षमा बस्नेत चयन


ओखलढुंगा, पुस २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संस्थापन पक्षले जिल्ला अध्यक्ष र सचिव चयन गरेर जिल्ला कमिटी निर्माण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्षमा रहेका नेताहरुले कार्यकर्ता भेलाबाट हटाएर अध्यक्ष र सचिव चयन गरेको हो ।

संस्थापन पक्षले एकताबाट चयन हुनुभएका जिल्ला अध्यक्ष मोहनकुमार खड्कालाई जिल्ला भेलाबाट विशेष प्रस्ताव पारित गर्दै हटाएर केदारबाबु बस्नेतलाई अध्यक्ष चयन गरिएको छ । आइतबारको कार्यकर्ता भेलामा मोहनकुमार खड्कालाई हटाउने प्रस्ताव पारित भएको थियो । जिल्ला सचिव मोहनकुमार श्रेष्ठलाई केन्द्रीय महाधिवेशन आयोजक समितिमा मनोनित गरेपछि सचिव पदमा समेत नयाँ व्यक्ति चयन गर्नुपर्ने भएकाले अध्यक्ष र सचिव चयन गरेर जिल्ला कमिटी विस्तार गरिएको हो ।

जसअनुसार नेता तीर्थ सुवेदीलाई प्रदेश कमिटीको सदस्यसमेत रहने गरी जिल्ला सचिव चयन गरिएको छ । सुवेदी र बस्नेत साविक एमालेको ओली समूहका नेता हुनुहुन्छ । जिल्ला कमिटीसमेत २ सय ५१ सदस्यीय बनाएर सार्वजनिक गर्ने तयारी गरिएको छ । यो जिल्ला कमिटीको पुर्नगठन मात्रै भएको र साविक जिल्ला कमिटीमा रहेका सबैलाई कमिटीबाट कारवाही नगरी थप गरिएको हो ।

प्रदेश सदस्यमा सिताराम गुरुङ, शंकर कट्वाल, जगत लुईटेललगायतलाई प्रस्ताव गरिएको छ । साविक १ सय ३७ जिल्ला कमिटीमा भने १ सय बढी प्रचण्ड–माधव समूहमा लागेका छन । त्यस्तै ८ स्थानीय तहका कमिटीमध्ये ५ तहले विज्ञप्ति जारी गरेर संसद विघटन गलत भएको भन्दै प्रचण्ड–माधव समूहको आन्दोलन सहभागी भएका छन ।