जनता टाइम्स

१८ चैत्र २०७७, बुधबार १४:५१

एनएचआरसीका नवनियुक्त पदाधिकारीहरूद्वारा पदभार ग्रहण, सबै प्रदेशमा विस्तार गर्नुपर्छ : नवनियुक्त अध्यक्ष प्रा.डा. बराल


काठमाडौं, चैत १८

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का नवनियुक्त अध्यक्षसहित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुले पदभार ग्रहण गर्नुभएको छ । गत बिहीबारको मन्त्रिषरिषद् बैठकले परिषद् अध्यक्षमा प्रा.डा. बराल, उपाध्यक्षमा डा. ढकाल र अन्य चार जना सदस्यहरु नियुक्त गरेको थियो । आज परिषद्को कार्यलयमा नवनियुक्त अध्यक्ष प्रा.डा. गेहनाथ बराल, उपाध्यक्ष डा. गौरव ढकाललगायतले पदभार ग्रहण गर्नुभएको हो ।

यस्तै, परिषद्का नवनियुक्त सदस्यहरु डा. बन्दना खनाल, डा. अवधेश तिवारी, डा. सन्तोष शाक्य र डा. रामआधार यादवले पदभार ग्रहण गर्नुभएको हो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले कोभिडको समयमा परिषद्को भूमिका महत्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रमा धेरै ठूलो चुनौती छ, सही तथ्यांकका लागि अनुसन्धान जरुरी छ, परिषद्बाट त्यो आउनुपर्छ ।’

त्यस्तै परिषद्का मानार्थ अध्यक्ष डा. मृगेन्द्रराज पाण्डेले परिषद् स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्ने एउटा संस्था एनएचआरसी भएको बताउनुभयो । उहाँले पहिला–पहिला स्वास्थ्य अनुसन्धान परिषद्ले के गर्छ भन्दै हाँस्नेहरु अहिले यसको महत्व बुझ्ने भएको पनि सुनाउनुभयो । परिषदका नवनियुक्त अध्यक्ष डा. बरालले परिषद् आफ्ना लागि नयाँ ठाउँ नभएको भन्दै अनुसन्धानका क्षेत्रमा आफू सधैं जोडिएको स्मरण गर्नुभयो । ‘हाम्रो क्षेत्र नै रिसर्च, ट्रेनिङ र जर्नल हो,’ उहाँले भन्नुभयो, ‘परिषदसँग विभिन्न तरिकाले जोडिदैं आएको छु । यो संस्था मेरा लागि नयाँ होइन् ।’

उहाँले संस्थालाई एकेडेमिक बनाउनुपर्ने र करिकुलम (पाठ्यक्रम) बनाएर अगाडि बढाउनुपर्ने पनि सुझाउनुभयो । उहाँले थप्नुभयो, ‘परिषदलाई सबै प्रदेशमा विस्तार गरेर यसको कार्यक्षेत्र पनि विकास गर्नुपर्छ, अध्ययन गर्ने क्षेत्र धेरै छन् । देशको भौगोलिक क्षेत्रअनुसार रोगहरुको प्रकार फरक-फरक हुने भएकाले त्यसअनुसार अध्ययन गर्दै जानुपर्छ । हामी पुरानो अध्ययनको निष्कर्र्ष अनुसार मात्रै उपचार विधि गर्दै आएका छौं, त्यो परिवर्तन गर्न चुनौती छ, साथसाथै परिवर्तन जरुर पनि छ ।’

पदभार ग्रहण गर्दै नवनियुक्त उपाध्यक्ष डा. गौरव ढकालले परिषदलाई राम्रो बनाउन आफूले योग्यता र क्षमताले सक्ने जति कोशिश गर्ने बताउनुभयो । परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले एनएचआरसी अब प्रदेश संरचनामा जाने बताउनुभयो । उहाँले त्यसका लागि जनशक्तिको तयारीमा काम भइरहेको जानकारी दिनुभयो ।