जनता टाइम्स

१७ जेष्ठ २०७८, सोमबार १४:४०

पर्यटनमन्त्री ढकालले खोले कांग्रेसले संबिधानबाहिर गएर प्रधानमन्त्रीमा दावी गर्नुको तथ्य


काठमाडौं, जेठ १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको तथ्य खोल्नुभएको छ । मन्त्री ढकालले नेकपा एमाले र जनता समाजवादी पार्टीलाई विभाजन गराउने उदेश्यका लागि कांग्रेसले निर्दलीय अभ्याशतिर लागेको र सो काम योजनावद्ध नै रहेको तथ्य खोल्नुभएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दल बिभाजन नभएको अवस्थामा सत्तारुढ नेकपा एमालेका २६ सांस्द र जसपाका १२ सांसदको हस्ताक्षर लिएर प्रधानमन्त्रीको दावी गर्न राष्ट्रपतिकहाँ निवेदन लिएर जानुभएको थियो । दलीय व्यवस्थामा अरू दलका सांसदको समर्थन छ भन्नु गैरलोकतान्त्रिक भएको भन्दै एमाले नेतासमेत रहनुभएका मन्त्री ढकालले कांग्रेसले अरू पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गरेको बताउनु भयो ।

‘आउँदो चुनावमा जसपा र नेकपा एमालेलाई विभाजनमा लानका लागि आफू प्रधानमन्त्री हुने सर्तमा नै यी पार्टी विभाजन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अरू पार्टीको आन्तरिक जीवन र मामिलामा हात हाल्ने, भाँजो सिर्जना गर्ने र पार्टी विभाजित गर्ने मनसायका साथ नेपाली कांग्रेसजस्तो आफूलाई बहुलवादी लोकतन्त्रको लागि नेतृत्व गरेर आएको छु भन्ने पार्टी अरूको घर झगडा गराएर यो खालको काममा लाग्ने कुरा एकदम गलत कुरा हो,’ न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री ढकालले भन्नुभयो, ‘ दलीय व्यवस्थामा अरू दलको समर्थन मलाई छ भन्ने हाकाहाकी कसरी नेपाली कांग्रेसका नेतृत्वले भन्न सक्छ ? यो भन्दा गैरलोकतान्त्रिक कुरा अरू केही हुन सक्छ जस्तो मलाई लाग्दैन ।’

मन्त्री ढकालले संविधानको धारा ७६ को उपधारा ५ को निर्दलीय कोणबाट व्याख्या गर्न नहुने बताउनुभयो । देशमा बहुदलीय शासन प्रणाली रहेको उल्लेख गर्दै उहाँले यस प्रणालीभित्र निर्दलीय आचरणअनुसारको राजनीति गर्न खोज्नु प्रतिगमन भएको बताउनुभयो ।

‘धारा ७६ ९५० को जुन दाबीको कुरा आयो, त्यसलाई मान्छेहरूले निरपेक्ष र निर्दलीय कोणबाट व्याख्या गर्न खोजेका छन् । बहुदलीय शासन प्रणाली हाम्रो देशमा छ । यसले गर्दा दलीय शासन प्रणालीभित्र निर्दलीय आचरण र आकाङ्क्षाअनुसारको राजनीति फर्काउँछु भनेर जसले नेतृत्व गर्छ, त्यसले अग्रगमनको कुरा गर्नु नै वास्तवमा प्रतिगमनको साधनमा चढेर अग्रगमनको कुरा गर्ने कुरा यो आफैँमा विरोधाभाषपूर्ण कुरा हो,’ मन्त्री ढकालले भन्नुभयो । मन्त्री ढकालले ताजा जनादेशमा जानुको विकल्प नभएको बताउनुभयो । सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शी र भयरहित चुनाव गराउन अगाडि बढ्ने जानकारी पनि दिनुभयो ।