काठमाडौं, ३ असार । काठमाडौं । सरकारले मनसुन सुरु भएसँगै विपद्बाट हुने घटना न्यूनीकरणका लागि जोखिम क्षेत्रको नक्सा तयार गरी प्रतिकार्य योजना बनाएको छ ।
प्रतिकार्य योजनामा विपद्बाट प्रभावित हुनेहरूको ३० मिनेटभित्रै उद्धार गर्नेगरी तयारी गरिएको छ ।गृह मन्त्रालयले बुधबार ‘ मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्य योजना २०७८’ पारित गर्दै विपद्बाट हुन सक्ने जोखिम कम गर्नेगरी रणनीति तय गरेको हो । गृहमन्त्री खगराज अधिकारीको नेतृत्वमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ११औं बैठकले विपद्बाट हुन सक्ने क्षति र त्यसलाई रोक्न सरकारी स्तरबाट गरिनुपर्ने कार्यलाई पारित योजनामा राखेको छ ।जसअनुसार प्रत्येक जिल्लामा सडकको पहुँच भएको ठाउँमा घटना भएको ३० मिनेटभित्र सुरक्षाकर्मीको टोली परिचालन गर्ने निर्णय गरिएको छ ।
सो कार्यको प्रभावकारी कार्यान्वयनका लागि बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीनवटै सुरक्षा निकाय सम्मिलित डेडिकेटेड डिजास्टर रेस्पोन्स टिम (डीडीआरटी) समेत गठन गरेको छ ।त्यस्तै घटना भएको स्थानबाट प्रभावितलाई अस्थायी बसोबासको प्रबन्ध गरी क्षति पुगेका घरको पुनर्निमाण गरिने योजना प्रतिकार्य योजनामा राखिएको छ । यसैगरी, बाढीको उच्च जोखिम रहेका तराईका जिल्लामा थप मोटरबोट र रबर बोटको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ । पारित विपद् प्रतिकार्य योजनामा मुख्यगरी पहिरोको वडास्तरीय नक्सा तयार पारी जोखिम न्यूनीकरणका कार्यक्रम समावेश गरिएको छ ।
यस्तै, बाढी र कोभिड तथा पहिरोको र कोभिडको जोखिम पहिचान गरी नक्सासमेत तयार पारिएको छ । मानिसको सुरक्षित अवतरणका लागि खुला स्थानको पहिचान गरी आवश्यक तयारी गरिएको छ । मुलुकका विभिन्न क्षेत्रमा १ सय ५५ वटा खुला स्थान तय गरिएको छ ।
यसैगरी, आपतकालीन कार्यका लागि स्रोत साधनको विवरण संकलन तथा व्यवस्थापन र परिचालनका आवश्यक तयारी पनि प्रतिकार्य योजनामा समावेश गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बैठकले प्रतिकार्य योजना पारित गर्दै सरकारका सबै संयन्त्रलाई बाढी, पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको काममा परिचालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने प्रतिकार्यसम्बन्धी कार्ययोजनालाई बैठकले पारित गरेको जानकारी दिनुभयो ।
प्रतिकार्य योजनामा कुन मन्त्रालयले के काम गर्ने र कसरी अघि बढ्ने भन्ने विषयमा विस्तृतमा उल्लेख गरिएको पोखरेलले बताउनुभयो । यो योजना सबै मन्त्रालय, एनजीओ, आईएनजीओ, दातृ संस्थालगायतको छलफल र प्रयासबाट तयार गरिएको हो । बैठकमा सिन्धुपाल्चोक, मनाङलगायत बाढी–पहिरो प्रभावित क्षेत्रको अवस्थाको समीक्षा गर्दै अपनाइनुपर्ने रणनीतिका विषयमासमेत छलफल भएको छ ।बैठकले प्रभावित क्षेत्रहरूमा तत्काल उद्धार र राहतको कामलाई अघि बढाइनेसमेत निर्णय गरेको छ ।













प्रतिक्रिया दिनुहोस्