जनता टाइम्स

६ असार २०७८, आईतवार १८:२९

काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता थपियो : निजी गाडीमा जोर–बिजोर, पसल बारअनुसार खुल्ने (सूचीसहित)


काठमाडौं, असार ६। सरकारले काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप खुकुलो बनाउँदै निजी सवारी साधन सञ्चालनको अनुमति दिएको छ । आज उपत्यकास्थित तीन जिल्लाका सीडीओहरुको बैठकले निजी सवारी जोर–बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको हो ।

निजी गाडीमा यात्रा गर्दा बढीमा ४ जनालाई अनुमति दिइने ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । यस्तै, मोटरसाइकलमा दुई जनाले यात्रा गर्न सक्नेछन् । ट्याक्सीहरुलाई पनि जोर बिजोर अनुसार चल्न दिइने भएको छ । आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने भएको छ ।

सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ। खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ भने रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउने भएका छन् । हार्डवेयर पसलहरु दैनिक ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्न पाउने भएका छन् । शनिबार अत्यावश्यक बाहेकका पसलहरु खुल्न नपाउने भएका छन् । सरकारी र सार्वजनिक संस्थानका कार्यालयमा सीमित कर्मचारी राखेर मात्र संचालन गर्न अनुमति दिइएको छ ।

‘स्मार्ट लकडाउन ?’

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सीसीएमसी निर्देशक समितिको बैठकले बुधबार ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । त्यसमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै आर्थिक, सामाजिक गतिविधिलाई अघि बढाउने भनिएको थियो ।

यस सम्बन्धी प्रावधानको खाका सीसीएमसीले गृहसहितका मन्त्रालयहरुलाई दिएको थियो । मन्त्रालय र विज्ञसँगको छलफलपछि सीसीएमसीले बनाएको ‘स्मार्ट लकडाउन’कै मोडल अनुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा खुकुलो बनाएका हुन् ।

उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसयता डेढ महीनासम्म क्रमशः निषेधाज्ञा थपिँदै आएको थियो ।