जनता टाइम्स

१६ असार २०७८, बुधबार २०:२३

विश्वास नेपालद्धारा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकका २ सय परिवारलाई राहत


काठमाडौं, असार १६

विश्वास नेपालले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरूका दुईसय परिवारलाई राहत प्रदान गरेको छ । कोरोना महामारीका कारण रोजगारी बन्द भएर समस्यामा परेका उपत्यकामा रहेका श्रमिकहरूलाई चामल, नुन, तेल, आलु, चिनी, दालसहित स्यानीटरी प्याड, स्यानिटाइजर मास्क प्रदान गरेको हो ।

विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले विश्वव्यापी महामारी कोरोनाको कारण गत वर्षदेखि रेष्टुरेन्ट, पव, डान्सबार, मसाज पार्लरलगायतका क्षेत्रमा काम गरिरहेका महिला/किशोरीको रोजगारी खोसिएकोले उनीहरूलाई केही दिनका लागि पुग्ने सहयोग प्रदान गरिएको बताउनुभयो । उहाँले गत वर्ष लकडाउन भयो, यस वर्ष निषेधाज्ञा छ, त्यस क्षेत्रमा कार्यरत श्रमिकको अवस्था ज्यादै दयनीय, विहान बेलुकाको छाक टार्न पनि समस्या परिरहेकोले संस्थाले केही सहयोग जुटाएर दिएको बताउनुभयो ।

थोरै तलबमा काम गर्न वाध्य त्यस क्षेत्रका श्रमिकले रोजगारी खोसिकै कारण आत्महत्या समेत गरिरहेको संस्थाले जनाएको छ । विश्वास नेपालले संस्थाको सम्पर्कमा आएका श्रमिकका लागि मनोपरामर्शको सेवासहित सक्दो सहयोग गर्दै आएको अध्यक्ष भण्डारीको भनाई छ । विश्वास नेपालले मनोरञ्जनको क्षेत्रमा काम गर्ने श्रमिकको हक, अधिकार र व्यवसायिक सिप, दक्षता सम्वन्धी सहयोग प्रदान गर्दै आएको छ ।