जनता टाइम्स

२४ असार २०७८, बिहीबार १५:३५

नेपाल आइपुग्यो इजरायलबाट पठाएको ५८ थान भेन्टिलेटरसहित २० करोड बढीको स्वास्थ्य सामग्री


काठमाडौं, असार २४ । इजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यको विशेष पहलमा पठाइएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री तथा उपकरण नेपाल आइपुगेको छ । स्वास्थ्य सामाग्री तथा उपकरण लिन इजरायल गएको नेपाल वायुसेवा निगमको २३५३ ‘चार्टड फ्लाईट’ मार्फत ती सामग्रीसहित बिहीबार विहान ११ः १० बजे त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको दूतावासले जनाएको छ ।

विमानस्थलमा सामाग्री बुझ्न परराष्ट्र र स्वास्थ्य मन्त्रालका पदाधिकारीहरु तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोली पुग्नुभएको र उहाँहरुलाई ती सामग्री हस्तान्तरण भएको पनि दूतावासले जानकारी दिएको छ । ‘नेपाल आएका ती स्वास्थ्य सामग्रीहरु इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपालीदूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुबाट सहयोग स्वरुप प्राप्त भएका हुन्,’ राजदूत डाक्टर शाक्यले भन्नुभयो, ‘करीब २० करोड रुपैंया जति अनुमानित मूल्य पर्ने उक्त स्वास्थ्य सामग्रीको तौल करीब १८ टन छ ।’

राजदूत शाक्यका अनुसार सामग्रीहरुमा ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित छन् । यस अघि पनि राजदूत शाक्यले नेपालका लागि इजरायलकातर्फबाट कोभिडसँग सम्बन्धित विभिन्न सहयोगहरु जुटाउन उल्लेख्य भूमिका निर्वाह गर्नुभएको थियो । ‘कोभिड—१९ सँग सम्बन्धी इजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न नेपाल सरकारसँगको समन्वयमा ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्न सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत पठाएको राजदूत शाक्यले बताउनुभयो । उहाँका अनुसार यसका लागि प्राविधिक विज्ञहरुले नेपालको सिसिएमसीसँग जुम मिटिङमार्फत आवश्यक परामर्श दिन थालिसकेका छन् ।

‘इजरायलमा भर्खरै मात्र सरकार परिवर्तन भई नयाँ प्रधानमन्त्री नियुक्त भएको तथा इजरायलमा नयाँ सरकार बनेको अवस्था छ,’ शाक्यले भन्नुभयो, ‘इजरायलमा यूद्ध चलिरहेको र अस्थायी युद्धविराम भए पनि छिटपुट युद्ध भइरहेको अवस्था छ । यस्तो प्रतिकुल अवस्थामा पनि नेपालका लागि सहयोग गर्ने अवसर पाउँदा खुशी लागेको छ । राजदुत शाक्यले यो सहयोग जुटाउन सहयोग गर्ने इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपाली सबैलाई धन्यवाद दिनुभएको छ । विश्वमा पहिलो ‘मास्क फ्री’ देशका रुपमा इजरायलले घोषणा गरेको थियो । इजरायलमा कोरोना करीब करीब नियन्त्रणमा आइसकेको र त्यहाँका जनताले मास्क लगाएर हिंड्नु नपर्ने अवस्था छ । सामग्री नेपाल पठाउन इजरायलको विमानस्थलमै राजदूत शाक्य, इजरायली परराष्ट मन्त्रालयका आर्थिक महाशाखा हेर्ने प्रमुखलगायत पुग्नुभएको थियो ।

नेपाल इजरायल सम्बन्ध स्थापनापछि नेपालको ध्वजावाहक बायुसेवा निमगको विमान इजरायलको विमानस्थलमा पहिलो पटक अवतरण भएको हो । ‘इजरायलमा नेपाली ध्वजावाहकको पहिलो औपचारिक उडान (मेडिकल कार्गो चार्टर्ड उडान) सम्भव भएको छ,’ राजदूत शाक्यले भन्नुभयो, ‘यो अभियानमा सफल बनाउन सहयोग गर्नुहुने नेपालका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिसिएमसी, नेपाल एअरलाइन्स, भारत, पाकिस्तान, बहराइन, साउदी अरब तथा इजिप्टस्थित नेपाली राजदूतावासहरु, इजरायलस्थित नेपाली समुदायका साथै इजरायली पक्षतर्फ इजरायली परराष्ट्र मन्त्रालय, काठमाडौँस्थित ईजरायली राजदूतावास, सहयोग संकलन, पारवहन तथा अन्य धेरै क्षेत्रमा सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद ।’

शाक्यले नेपालका लागि नेपालको अवैतनिक वाणिज्यदूत, इजरायली सरकार, सम्पूर्ण दातृ निकाय तथा सहयोगी मनहरुमा दूतावास परिवार हृदयदेखि नै आभार प्रकट गरेको बताउनु भयो ।