जनता टाइम्स

३० असार २०७८, बुधबार ०९:३३

यसरी उदांगियो प्रधानमन्त्री देउवाले त्यो झुट


काठमाडौं, असार ३० । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नसच्चिएको नियुक्तिपत्रका आधारमै सपथ लिनुभएको छ । सपथ लिनुअघि विवादित बनेको नियुक्तिपत्र सच्चिएको छैन ।

प्रधानमन्त्री नियुक्तिका लागि संविधानको कुनै पनि धारा उल्लेख नगरिएको नियुक्तिपत्र सच्याउन राष्ट्रपति विद्यादेवी भण्डारी तयार नभए पनि देउवा सपथका लागि तयार हुनुभएको हो । मुख्यसचिव बैरागी मार्फत नियुक्तिको भाषा सच्याउन माग गरेका प्रधानमन्त्री देउवा भाषा नसच्चिने जवाफ पाए पनि शपथ लिन राजी भएरै शितल निवास जानुभएको हो । स्रोतका अनुसार नियुक्तिको भाषा सच्याउनु पर्ने कुनै कारण नभएकोले त्यसमा शितलनिवास आफ्नो अडानबाट पछि हटेन ।

शितल निवासमा राट्रपतिसँग केहीबेर भएको छलफलमा राष्ट्रपति पत्र नसच्चिने अडानमा बस्नुभयो । राष्ट्रपतिको अडानपछि देउवा सपथ लिन तयार भए । तर सञ्चार माध्यममा भने शितल निवासले नियुक्तिको भाषा सच्याएको व्यापक प्रचार भयो । नियुक्तिको भाषा सच्चिएको पत्र कहीं, कतै सार्वजनिक भएको छैन । नियुक्तिको भाषा सच्चिएर के लेखियो भन्ने कसैले उल्लेख पनि गरेका छैनन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार शितल निवासबाट देउवाको नियुक्तिको दोस्रो विज्ञप्ती जारी भएको छैन । ‘प्रधानमन्त्री शेरबहादुर देउवाको नियुक्तिका सम्बन्धमा राष्ट्रपति कार्यालयको वेबसाइटमा जुन विज्ञप्ती राखिएको छ त्यो नै आधिकारिक हो । दोस्रो विज्ञप्ती जारी भएको छैन,’ शितल निवास स्रोतले भन्यो ।

शितल निवासले प्रधानमन्त्री देउवाको सिफारिसमा मन्त्रिपरिषदमा नयाँ मन्त्रीहरुको नियुक्तिको अर्को विज्ञप्ती जारी गरेको छ । तर देउवाको नियुक्तिको होइन । सच्याइएको भनेको पत्रमा चाहिँ प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ को ९ बमोजिम मन्त्रिपरिषद विस्तार गरेको विवरण उल्लेख छ ।

सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तीमा देउवाले धारा ८० बमोजिम पद तथा गोपनियताको सपथ लिएको उल्लेख छ । धारा ८० मा प्रधानमन्त्री नियुक्तिको होइन, सपथको व्यवस्था छ । पत्रका अनुसार देउवा र नियुक्त अन्य चार जना मन्त्रीले एउटै धारा ८० अनुसार सपथ लिनुभएको हो ।