काठमाडौ, २० भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालको गृहजिल्ला इलाममा नेकपा (एमाले)का अधिकतर जनप्रतिनिधि र नेता–कार्यकर्ता पार्टीमै रहने सम्भावना देखिएको छ। एमाले फुटेपछि जनप्रतिनिधिले दल रोज्न पाउने समय २ दिनमात्र बाँकी रहँदा सबैजसो स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष एमालेकै बैठकमा सहभागी भईरहनुभएको छ । जिल्लास्थित खनालनिकट भनिएका जनप्रतिनिधि र पार्टीका अगुवा नेता नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालले पार्टी दर्ता गर्दाताका १० बुँदे सहमति कार्यान्वयन र दोस्रो तहका नेताको निर्णय पर्खिरहेका थिए। केन्द्रमा विभाजन भइ नयाँ दल दर्ता र १० बुँदे कार्यान्वयनमा सहमति भइसकेपनि जिल्लामा चाहिँ नयाँ दल गठन भएको छैन। बरु, एमालेको समानान्तर जिल्ला कमिटी बनाएका अधिकतर नेता–कार्यकर्ता नै अहिले एमाले जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी भएका छन्। र, जिल्लामा १० बुँदे सहमति कार्यान्वयनका लागि जिल्लाले आफैं कार्यादेश तय गर्नेगरी दुर्वतर्फका नेता सम्मिलित कार्यदल गठन भएको छ।
सदरमुकामस्थित जिल्ला पार्टी कार्यालयमा सम्पन्न सचिवालय बैठकमा खनालनिकट मानिने एमाले १ नम्बर प्रदेश सदस्य मणिकुमार लिम्बू, ध्रुव श्रेष्ठ, रणबहादुर राई, उदयबहादुर राई, चित्रकला बराइलीलगायत सहभागी भए। बैठकले जिल्ला अध्यक्ष रामबहादुर रानाको संयोजकत्वमा महेश बस्नेत, गणेश बराल, कृष्ण श्रेष्ठ, उदयबहादुर राई, रणबहादुर राई र चित्रकला बराइली सदस्य रहेको कार्यदय गठन गरेको छ। एमालेले पूर्वप्रधानमन्त्री खनाल तथा प्रदेश सांसद खिनु लङ्वा लिम्बूलगायत जनप्रतिनिधिलाई जनभावनाको कदर गर्दै पार्टीमै रहन सार्वजनिक अपिलसमेत गरेको छ। पार्टी विभाजनमा नलाग्न पनि नेता–कार्यकर्तालाई सचिवालय बैठकले आग्रह गरेको छ।
१० बुँदे सहमति अक्षरशः पालना गर्दै जनवर्गीय, वडा कमिटी, पेसागत संगठन, जिल्ला लेखा र निर्वाचन कमिटीलाई २०७५ जेठ २ कै अवस्थामा क्रियाशील राख्ने निर्णयसमेत बैठकले गरेको जिल्ला कमिटी सदस्य रवीन्द्र सुवेदीले जानकारी दिनुभयो । तर, यसबीचमा अन्य पार्टीबाट आएका नेता–कार्यकर्तामध्ये राज थापा, अमर तामाङ र दामोदर भट्टराईलाई जिल्ला सचिवालय सदस्य तथा दीपक गौतम, नवीन मगरलगायतलाई जिल्ला सदस्य बनाउने निर्णय भएको एमालेले जनाएको छ।
बैठकले जिल्लाका ८१ वटै वडाको अधिवेशन आउँदो कात्तिक ६ मा र १० वटै स्थानीय तहको अधिवेशन कात्तिक ९ मा गर्ने निर्णय पनि गरेको छ। एमालेले भदौ २६ मा सबै स्थानीय तहका नेता–कार्यकर्ताको भेला आयोजना गरी प्रशिक्षण सञ्चालन गर्ने भएको छ। स्थानीय तहमा प्रशिक्षणका लागि खटिने नेताहरूको सूचीसमेत तयार गरेको छ। एमाले विभाजन भएपछि इलाममा जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर राना, राष्ट्रियसभा सदस्य अगमप्रसाद बान्तवा, प्रतिनिधिसभा सदस्य तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ, प्रदेश सांसद काजीमान कागते एमालेमै छन्। पूर्वप्रधानमन्त्री खनाल तथा प्रदेश सांसद खिनु लङ्वा लिम्बू नेकपा (एस)निकट देखिनुभएको छ ।
जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिका प्रमुख महेश बस्नेत, माई नगरपालिका प्रमुख दीपक थेबे, देउमाई नगरपालिका प्रमुख सूर्य पोख्रेल तथा चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राई सस्थापन पक्ष मानिनुहुन्छ। स्थानीय निर्वाचनमा एमालेले नै विजय हासिल गरेका सूर्योदय, इलाम, माई र देउमाई नगरका उपप्रमुख तथा चुलाचुली, माईजोगमाई, फाकफोकथुम, माङ्सेबुङ गाउँपालिकाका उपाध्यक्ष पनि संस्थापन पक्ष नै देखिनुभएको छ ।
पार्टीका जिल्ला उपाध्यक्ष भक्त केसी, माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राई र नेता टेकबहादुर राई सचिवालय बैठकमा सहभागी हुनुभएन । जिल्ला उपाध्यक्ष केसी, प्रदेश कमिटी सदस्यद्वय मणिकुमार लिम्बू र ध्रुव श्रेष्ठलगायतले केसीको संयोजकत्वमा एमालेको समानान्तर जिल्ला कमिटीसमेत बन्यो। तर, समानान्तर कमिटीमा रहेका र खनालनिकट मानिएका नेतामध्ये मणिकुमार लिम्बू, ध्रुव श्रेष्ठ, उदय राई, रणबहादुर राईलगायत चाहिँ एमालेको जिल्ला सचिवालय बैठकमा सहभागी हुनुभएको छ । पार्टी विभाजन भएपछि जनप्रतिनिधिले मंगलबार (भदौ २२) सम्ममा दल रोज्न पाउने प्रावधान छ। तर, जिल्ला निर्वाचन कार्यालयमा आइतबार साँझसम्म जिल्लाका कुनै जनप्रतिनिधि नयाँ दल नेकपा (एस)का लागि सनाखत गर्न आएका छैनन्।













प्रतिक्रिया दिनुहोस्