जनता टाइम्स

२३ भाद्र २०७८, बुधबार १६:१६

लिफ्ट माग्दै चालकलाई नै ढुंगाले हानेर १४ लाख लुट्ने पक्राउ


उदयपुर, २३ भदौ । लिफ्ट मागी गाडीमा चढेर चालकलाई कुटेर बेहोस बनाई लुटपाट गर्ने पक्राउ परेका छन् । ओखलढुंगाको चिसम्खुगढी गाउँपालिका–३ का रमेशकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी सडकको बर्मी जंगलमा पिसाब गर्न बाहिर निस्किएका चालक प्रकाश श्रेष्ठलाई रमेशले पछाडिबाट ढुंगाले हानेर गाडीमा रहेको १४ लाख रुपैयाँ लिएर हिँडेका थिए ।

उनलाई प्रहरीले १३ लाख ७७ हजार आठ सय ९५ रुपैयाँ र मोबाइल सेटसहित दुई घन्टाभित्रै पक्राउ गरेको थियो । प्रदेश नं २-०१-००१ च ०३६९ नम्बरको जिप ओखलढुंगा खाद्यान्न पुर्याएर काटारीतर्फ आउँदै गर्दा रमेशले आफू पनि व्यापारी भएको र सामान लिन कटारी जाने भनेपछि प्रकाशले गाडीमा लिफ्ट दिएका थिए ।

बर्मी जंगलमा पिसाब गर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडिबाट ढुंगाले गर्धनमा हानी बेहोस बनाई उहाँको साथमा रहेको रकम र मोबाइल लुटपाट गरी फरार भएको इलाका प्रहरी कार्यालय कटारील जनाएको छ । केही समयपछि होसमा आई प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका(४ गबुवा जंगलबाट बेलुका ७ बजे रमेशलाई पक्राउ गरेको हो ।