जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार ०८:३२

विश्व रेबिजविरुद्धको दिवस :तथ्य बुझौँ,त्रसित नबनौँ


काठमाडौँ, १२ असोज । आज विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।‘रेबिज :तथ्य बुझौँ,त्रसित नबनौँ भन्ने नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो ।

कुकुरलगायत पशुपक्षीको टोकाइबाट टेकु अस्पतालमा दैनिक १५० जनासम्म मानिस खोप तथा उपचारका लागि जाने पुग्ने गरेका छन् । रेबिज विरुद्धको खोप सहज उपलब्ध भए पनि ज्यान गुमाउनेको सङ्ख्या घट्न सकेको छैन ।डाक्टर बाँस्तोलका अनुसार महिनामा एकदेखि तीन जनासम्म व्यक्तिको रेबिजका कारण ज्यान जाने गरेको छ ।

घरमै पालेको कुकुरले टोकेको भनेर हेलचेक्य्राइँ गर्ने, बेलैमा खोप नलगाउनेलगायतका कारण सङ्क्रमितको ज्यान जाने गरेको उहाँको भनाइ छ ।सुई लगाएर रेबिजलाई निको पार्न सकिन्छ तर ढिला भएमा प्राणघातक बन्न सक्छ । मुख्य सहर बजारमा छाडा छाडिने कुकुरहरूका कारण रेबिज सङ्क्रमणको जोखिम बढाएको छ ।

घरमा पालेको वा कुकुरको छाउराले टोकेको भनेर लापर्बाही नगर्न डाक्टर बाँस्तोलाको सुझाव छ ।जटिल अवस्थामा ‘रेबिज इम्युनोग्लोबुलिन’ सुई लगाउनु पर्छ ।

एन्टी रेबिज खोप लगाएको सात दिन पार गरिसकेको र पहिला कुनै समयमा एन्टी रेबिज खोप लगाइसकेको अवस्थामा भने ‘रेबिज इम्युनोग्लोबुलिन सुई लगाउन नहुने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो । ‘रेबिज इमुनोग्लुबोलिन’ सबै ठाउँमा सहज उपलब्ध छैन । यो सुई लगाउन सङ्क्रमित काठमाण्डौ आउनुपर्ने बाध्यता छ ।