जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार २०:५२

माकलबारीमा वृद्धाको घाँटीबाट सुनको तिलहरी लुट्ने युवक पक्राउ


काठमाडौं, असोज २३ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको तिलहरी लुटेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका घर भई काठमाडौंको माकलबारीमा बस्दै आएका २९ वर्षीय सुनिल सुनार रहेका छन्।

प्रहरीका अनुसार असोज २१ गते दिउँसो करिब ३ः२४ बजे आफ्नै घरअगाडि उभिरहेकी वृद्ध महिलाको घाँटीबाट सुनारले सुनको तिलहरी लुटेर फरार भएका थिए। लुटिएको तिलहरी करिब चार आना तौलको र ७५ हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ।

घटनाबारे सूचना पाएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा असोज २२ गते अपराह्न ४ बजे सुनारलाई लुटिएको तिलहरीसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार सुनारविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।