जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार २०:३८

पर्यटक भिसामा धर्म प्रचार गरेको आरोपमा २४ कोरियाली नागरिक पक्राउ


विराटनगर, असोज २३ । पर्यटक भिसामा नेपाल आएर धर्म प्रचारमा संलग्न भएको आरोपमा प्रहरीले २४ जना दक्षिण कोरियाली नागरिकलाई पक्राउ गरेको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७, मालती मार्गस्थित नेपाल न्यू कोभेनन्ट कलेजमा शुक्रबार आयोजित धार्मिक प्रशिक्षणमा सहभागी भइरहेका बेला उनीहरू पक्राउ परेका हुन्।

मोरङ प्रहरी प्रमुख कवित कटवालले पर्यटक भिसामा आएर धर्म प्रचारमा संलग्न भएको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो। पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौंस्थित अध्यागमन विभाग पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरू असोज २० र २१ गते काठमाडौं हुँदै विराटनगर आएका थिए। अक्टोबर १२ सम्म मोरङमा रहने उनीहरूको कार्यतालिका थियो।

लभ नेपाल मिसनको सहयोगमा सञ्चालित नेपाल न्यू कोभेनन्ट कलेजमा क्रिस्चियन धर्मसम्बन्धी अध्यापन हुने प्रहरी स्रोतले जनाएको छ। उनीहरूमाथि थप कारबाही अध्यागमन विभागले गर्नेछ।