काठमाडौं, असोज २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद भूमिका श्रेष्ठले संसद्मा बिताएका पहिलो ६ महिनाको अनुभव सुनाउँदै नयाँ सांसदले संसदीय प्रक्रिया सिक्नेदेखि आलोचना र दबाब सामना गर्नेसम्मका चुनौती झेल्नुपरेको बताउनुभएको छ।
चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सांसद बनेपछि तत्काल कानुन निर्माणमा जुट्ने सोच भए पनि त्यसका लागि निश्चित प्रक्रिया र विधि हुने कुरा पछि बुझेको बताउनुभयो।
उहाँले संसद्मा सुरुमा ताली बजाउने कि टेबल ठोक्ने भन्ने विषयमै अलमल भएको अनुभव सुनाउनुभयो। शोक प्रस्तावका बेला हात उठाउनुपर्ने लगायतका संसदीय अभ्याससमेत सिक्न बाँकी रहेको उहाँको भनाइ थियो।
“सुरुमा ढ्यापढ्याप गर्ने हो कि ताली पिट्ने हो थाहा थिएन। म त एक्टिभिजमबाट आएको, सुरु-सुरुमा ताली पिट्दो रहेछु। पछि ढ्यापढ्याप गर्न सिकियो,” उहाँले भन्नुभयो।
नयाँ पार्टीबाट निर्वाचित सांसद भएकाले आफूहरूले विभिन्न आलोचना र दबाब सामना गर्नुपरेको पनि उहाँले बताउनुभयो। कतिपयले ‘घण्टी’ र ‘खरानी ग्याङ’ जस्ता शब्द प्रयोग गरेर होच्याउने गरेको तथा सञ्चारमाध्यममा बोल्नसमेत अप्ठ्यारो महसुस हुने गरेको उहाँको भनाइ थियो।
“हामीले पनि धेरै कुरा सहनुपरेको छ। सुरु-सुरुमा त केही सांसदलाई एन्जाइटी पनि भएको थियो,” उहाँले सुनाउनुभयो।
कार्यक्रममा श्रेष्ठले स्थानीय तहको निर्वाचनमा पार्टीमा सुरुदेखि योगदान गरेका व्यक्तिले अवसर पाउनुपर्ने विषय पनि उठाउनुभयो। त्यसलाई सम्बोधन गर्न अझै समय रहेकाले आत्तिनुभन्दा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने उहाँको धारणा थियो।
उहाँले चितवनलाई रास्वपाको ‘निलो क्रान्ति’को जगका रूपमा व्याख्या गर्दै स्थानीय र प्रदेश तहमा पनि पार्टीको आधार बलियो बनाउनुपर्नेमा जोड दिनुभयो। देश, जनता र समाजको सुख, शान्ति तथा समृद्धिका लागि प्रतिबद्ध भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो।













प्रतिक्रिया दिनुहोस्