जनता टाइम्स

२२ आश्विन २०८३, बिहीबार १५:३४

गोली हानेर पक्राउ परेका आयन २७ मुद्दाका प्रतिवादी


काठमाडौं, असोज २२ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी, हातहतियार देखाएर सुनका गरगहना लुटपाट तथा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले आयन माझीसहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी सिलसिलाबद्ध चोरी तथा लुटपाटमा संलग्न आयन माझी समूहलाई पक्राउ गरिएको जनाएको छ।

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय आयन माझीलाई पक्राउ गर्ने क्रममा उनले प्रहरी टोलीमाथि धारिलो हतियार प्रहारको प्रयास गरी भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले दुई राउन्ड हवाई फायर र घुँडामुनि एक राउन्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

लुटपाटमा संलग्न अन्य व्यक्तिको खोजी गर्ने क्रममा भक्तपुरको ठिमी नगरपालिका–४ बाट थप दुई जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो।

प्रहरीका अनुसार आयन माझीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा डाँकाचोरीसम्बन्धी २७ वटा मुद्दा दर्ता भएका छन्।

अनुसन्धानका क्रममा माझी समूहले आपराधिक गतिविधिमा प्रयोग गर्ने उद्देश्यले काठमाडौंका विभिन्न स्थानबाट १५ वटाभन्दा बढी मोटरसाइकल चोरी गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार समूहका सदस्यहरू स्वयम्भू, बौद्धलगायतका क्षेत्रमा भएका लुटपाट तथा सिक्री लुट्ने घटनामा समेत प्रत्यक्ष रूपमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ।