जनता टाइम्स

२२ आश्विन २०८३, बिहीबार १४:५७

भारतका दिग्गज अभिनेता नाना पाटेकरको निधनले शोकमा डुब्यो बलिउड


नयाँदिल्ली, असोज २२ । भारतका दिग्गज अभिनेता नाना पाटेकरको निधनले बलिउड शोकमा डुवेको छ । बलिउड तथा मराठी चलचित्रका चर्चित अभिनेता पाटेकरको बिहीवार निधन भएको हो।

पाटेकरको बिहीबार बिहान गोवास्थित निवासमा हृदयाघातका कारण निधन भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ। नाना पाटेकरका छोरा मल्हार पाटेकरले उहाको निधनको पुष्टि गर्नुभएको छ ।

गोवाको डोना पाउलास्थित घरमा बेहोस अवस्थामा भेटिएका उहाँलाई तत्काल मणिपाल अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले करिब ४५ मिनेटसम्म बचाउने प्रयास गरेका थिए। तर उपचार प्रयास सफल हुन नसकेपछि बिहान करिब ५स्२० बजे चिकित्सकले पाटेकरलाई मृत घोषणा गरेका थिए।

प्रारम्भिक विवरणमा पाटेकरको मृत्युको कारण गम्भीर हृदयाघात बताइएको छ। पोस्टमर्टमपछि मृत्युको कारण थप स्पष्ट हुने अस्पतालका चिकित्सकले बताएका छन्।

७५ वर्षीय नाना पाटेकर हिन्दी र मराठी चलचित्रका प्रभावशाली अभिनेताका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँको वास्तविक नाम भने विश्वनाथ पाटेकर थियो। सन् १९७८ मा ‘गमन’बाट चलचित्रमा अभिनय यात्रा सुरु गर्नुभएका नानाले ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’, ‘वेलकम’ र ‘नटसम्राट’लगायत चलचित्रमा अभिनय गर्नुभएको थियो ।

‘क्रान्तिवीर’का लागि उहाँले उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार पाउनुभएको थियो भने ‘परिन्दा’ र ‘अग्निसाक्षी’का लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय पुरस्कार जित्नुभएको थियो । सन् २०१३ मा भारत सरकारले पाटेकरलाई पद्मश्रीबाट सम्मान गरेको थियो।