काठमाडौं, असोज २२ । अमेरिकाले इरानमाथि फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था एक्सियोसले जनाएको छ।
अमेरिकी रक्षा मन्त्रालयले आवश्यक तयारी पूरा गर्न अमेरिकी केन्द्रीय कमान्डलाई निर्देशन दिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
रिपोर्टअनुसार अमेरिका र इजरायलले नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि इरानमाथि सम्भावित हमला गर्न सक्नेछन्। इजरायलमा हुने निर्वाचनअघि पनि सैन्य कारबाही हुन सक्ने जनाइएको छ।
सम्भावित कारबाहीमा इरानका ऊर्जा केन्द्र, महत्वपूर्ण पूर्वाधार तथा आणविक केन्द्रलाई लक्षित गर्दै ठूलो हवाई हमला गर्न सकिने अधिकारीहरूले बताएका छन्।
इरानसँगको युद्धका कारण अमेरिकामा पेट्रोलको मूल्य बढेको र त्यसको असर ढुवानी, यातायात, हवाई सेवा तथा खाद्यान्नको मूल्यमा परेको बताइएको छ। निर्वाचन नजिकिँदै गर्दा दैनिक जीवनयापनको बढ्दो खर्च अमेरिकी मतदाताका लागि प्रमुख चिन्ताको विषय बनेको छ।
सोमबार सार्वजनिक रोयटर्स–इप्सोस सर्वेक्षणअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यसम्पादनप्रतिको समर्थन ३२ प्रतिशत रहेको छ। सेप्टेम्बरमा गरिएको सर्वेक्षणमा पनि उनको समर्थन ३२ प्रतिशत नै थियो।
सर्वेक्षणले आगामी निर्वाचनमा मतदान गर्दा अमेरिकी नागरिकका लागि दैनिक जीवनयापनको खर्च प्रमुख मुद्दा बनेको देखाएको छ।
इरानमाथि सम्भावित अमेरिकी हमलाबारे अहिलेसम्म अन्तिम निर्णय सार्वजनिक भएको छैन। सम्भावित सैन्य कारबाहीको समय र स्वरूपबारे प्राप्त विवरण अमेरिकी अधिकारीहरू तथा सञ्चारमाध्यमका रिपोर्टमा आधारित छन्।












प्रतिक्रिया दिनुहोस्