जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १३:१५

यस्तो छ प्रधानमन्त्री देउवालाई ओलीको सन्देश


काठमाडौं, असोज १२ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले लोकतान्त्रिक मुल्य मान्यता र संबिधानमाथि नै गम्भीर आघात पुर्याउने काम गरेको भन्दै कडा आपत्ति जनाउनु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर आफ्नो निवास बालकोट आउनु भएका कानुनमन्त्री ज्ञानेन्द्र कार्कीमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले सरकारले गर्नै नहुने काम गरिरहेको तर गर्नैपर्ने काम नगरेको तथ्य राखेर प्रधानमन्त्री देउवालाई सन्देश पठाउनु भएको हो । कानूनमन्त्री कार्की आज ओली निवास पुग्नुभएको थियो ।

यस्तो छ प्रधानमन्त्रीलाई ओलीको सन्देश
सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गतभदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ । चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधानविपरीत थियो ।

अहिले संसद् अधिवेशन चालु छ । त्यो अध्यादेश प्रतिस्थापन गर्न संसदलाई सरकारले सूचित गरिसकेको अवस्था छ । कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो । संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन सक्दैन ।

संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश मार्फत कानुन सम्बन्धी कामहुन सक्ने हो । तर हाल संसद् अधिवेशनचालु रहेकै बेला संसद्मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट छ ।