जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १६:०८

एमाले विधान महाधिवेशनको तयारी अन्तिम चरणमा, प्रतिनिधिलाई सातदोबाटोबाटै ‘पिक अप’को व्यवस्था


काठमाडौं, असोज १२ । एमालेले आगामी शुक्रबारबाट सुरु हुने पहिलो विधान महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । असोज १५ देखि १७ सम्म हुने महाधिवेशनमा लागि ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा आवश्यक प्रबन्ध सुरु गरिएको र सवै तयारी अन्तिम चरणमा पुगेको महाधिवेशन प्रचार उपसमितिका संयोजक खीमलाल भट्टराईले बताउनु भयो ।

संयोजक भट्टराईका अनुसार सम्मेलनको केन्द्रमा मुख्य हल ३ हजार सीट क्षमता भए पनि सो स्थानमा ५ हजार प्रतिनिधि बस्ने व्यवस्था गरिएको छ । ‘नवनिर्मित भवनको मुख्य हलमा तीन हजार सीट छन् । साइडका २ वटा प्यासेजमा पर्याप्त ठाउँ रहेको छ । त्यहीँ थप २ हजार प्रतिनिधिलाई व्यवस्था गरेका छौं, हलमा काम तीव्र गतिमा अघि बढेको छ,’ भट्टराईले भन्नुभयो । गत वैशाखमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन केन्द्रको उद्घाटन गर्नुभएको थियो । सो हलमा पहिलो पटक ठूलो सम्मेलनमा आयोजना गर्न लागिएको हो । देशभरबाट करिब ५ हजार भन्दा बढी प्रतिनिधिहरूको सहभागीता रहने एमालेले जनाएको छ ।

जसमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य, केन्द्रीय निकाय, विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रको प्रतिनिधि, संघीय र प्रदेशका सांसद, पालिकाका प्रमुख तथा उपप्रमुखहरू र केन्द्रले मनोनीत गर्ने १० प्रतिशत प्रतिनिधिको सहभागिता रहनेछ । एमालेले स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा महाधिवेशनमा व्यवस्थापन कमिटी गठन गरेको छ । जसमा कृष्णगोपाल श्रेष्ठ, सुशीला नेपाल, पासाङ शेर्पा, खिमलाल भट्टराई, विनोद श्रेष्ठ, सुजिता शाक्य रहनुभएको छ ।

कमिटीको सचिवमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ हुनुहुन्छ । सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि एमालेले ललितपुरको सातदोबाटोबाट महाधिवेशन स्थलसम्म पुर्‍याउन मोटरको व्यवस्था गरेको भट्टराईले बताउनु भयो । ‘प्रतिनिधिहरूलाई सातदोबाटोबाट महाधिवेशनस्थलसम्म पार्टीले पुर्‍याउने गरेका छौं,’ भट्टराईले भन्नुभयो, ‘अन्यको मोटरलाई भने सातदोबाटोमै राख्ने व्यवस्था गरेका छौं ।’ एमालेले कार्यक्रम भने बिहान ११ बजेबाट दिउँसो ५ बजेसम्म मात्रै चलाउने गरी व्यवस्था गरेको छ ।