जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १८:५४

संसदमा पेश भएको अध्यादेश सूचना निकालेर फिर्ता हुँदैन : अध्यक्ष ओली


काठमाडौं, असोज १२ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकपटक जारी भएको र संसदमा पेश भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने बताउनुभएको छ । गठबन्धन सरकार संसदीय मूल्यमान्यता भत्काएर स्वेच्छाचार बन्दै गएको उहाँले आरोप लगाउनुभयो । आज काठमाडौंमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा पूर्वप्रधानमन्त्री समेत रहनुभएको ओलीले एउटा अध्यादेश रद्द गर्न अर्को अध्यादेश वा कानून नै चाहिने बताउनुभयो ।

संसद चलिरहेको बेलामा सांसदबाटै कानून बनाइनुपर्ने उहाँको भनाइ छ । ओलीले भन्नुभयो, ‘एमाले फुटाउनका लागि संविधान विपरित, दूषित मनसायका साथ अध्यादेश ल्याइयो । अहिले संसद छलेर सूचनामार्फत अध्यादेश फिर्ता भनिएको छ । अध्यादेशको कुरा, कानूनको कुरा भनेको संसदको विजनेस हो । अध्यादेश रद्द गर्न अर्को कानून चाहिन्छ । यत्तिकै फिर्ता हुँदैन । रद्द गर्नुपर्यो भने अर्को अध्यादेशको व्यवस्था गर्नुपर्छ ।’

उहाँले थप्नुभयो, ‘पहिलेको ऐन–कानुन रद्द हुनेगरी सूचना जारी हुन सक्दैन । पहिलेको कानून अहिले कहाँ गयो ? सदनको बैठक चालु छ । सूचना जारी गर्न पाइँदैन । कानून परिवर्तन गर्न पाइँदैन ।’ ओलीले संविधान, लोकतन्त्र र संसदीय परिपाटी भत्काएर सरकार अघि बढेको आरोप लगाउनुभयो ।