काठमाडौं, १३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी अोलीले सरकारबाट बाहिरिएपछि हिजो पहिलो पटक सम्पादकहरु सँग अन्तरक्रिया गर्नुभयो । कतिपय प्रशंसमा सम्पादक र एमाले अध्यक्ष ओली विच नोकझोकनै चलेको थियो । हिजोको अन्तरक्रियामा फेरि एकपटक आदरार्थी शब्दबारे बहस भएको छ । एक सम्पादकले यो प्रसंग निकालेपछि ओलीले कडा जवाफ फर्काउनुभयो ।
ती सम्पादकले सञ्चारमाध्यमहरूले राष्ट्रपतिदेखि सर्वसाधारण सबैलाई एउटै भाषा प्रयोग गर्ने गरेको तर ओलीले बारम्बार गुनासो गरको भन्दै असन्तुष्टी जनाउनुभएको थियो। अबका १५ महिना यस्तो गुनासो सुन्नु नपर्ने भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभएको थियो । उहाँलाई बीचमा रोक्दै ओलीले प्रश्न गर्नुभयो , ‘तपाईं आफ्नो बाआमालाई पनि तिमी भन्नुहुन्छ ? सम्पादकले एउटा गीतको पंति भन्दै ‘तिमी’ भन्दा फरक नपर्ने बताउनुभयो । त्यसपछि ओलीले भन्नुभयो , ‘त्यो त गीतमा न हो । गीतमा त भगवानलाई पनि तँ भनिन्छ ।’उहाँले मुनामदनको ‘ईश्वर तैले रचेर फेरि..।’ गीत सम्झाउनुभएको थियो ।
गीत र साहित्यमा तिमी, तँ जे भने पनि सञ्चारमाध्यमको भाषा आदरार्थी हुनुपर्ने उहाँको भनाइ छ । यस विषयमा आफ्नो व्यक्तिगत गुनासो नभएको तर भाषिक समृद्धिको चिन्ता भएको उहाँले बताउनुभयो ।ओलीले भन्नुभयो ‘तपाईंहरूले भेदभावपूर्ण भाषा प्रयोग गर्नुभयो भनेको होइन । तिमी, तपाईं भन्ने, आदरभाव व्यक्त गर्ने, यो हाम्रो भाषिक समृद्धि हो । हाम्रो भाषा तिमी, तपाईं, हजुरमा व्यक्त हुन्छ । कसैले बोलाउँदा हामी ‘हजुर’भन्ने जवाफ दिन्छौं । हामी अरुको मात्रै सिको नगरौं ।’
उहाँले थप्नुभयो , ‘मलाई तिमी भनेको भनेर गुनासो गरेको होइन । मलाई त तिमी होइन तँ भने पनि हुन्छ ।’ओलीले देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमको खबरदारी नपुगेको टिप्पणी गर्नुभयो । विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन देखिएको बताउनुभयो । ओलीले आफ्नो सरकारका पालामा सञ्चारमाध्यमबाट निकै खबरदारी भएको भन्दै धन्यवादसमेत दिनुभएको थियो । सरकारले गल्ती नगरोस् भन्नका लागि खबरदारी आवश्यक रहेको उहाँको भनाइ थियो ।
ओलीले भन्नुभयो, ‘एमाले आज सत्तापक्षबाट प्रतिपक्षमा गएको छ । सरकारमा छँदा हामीले सञ्चारमाध्यमबाट महत्वपूर्ण सहयोग पायौं । प्रधानमन्त्रीको हैसियतमा मैले पाएँ । त्यसका लागि धन्यवाद दिन चाहन्छु । सरकारले गल्ती नगरोस् भनेर अमूल्य सुझावहरू दिनुभयो । ती खबरदारीले हामीलाई गल्ती नगर्न प्रेरित गर्यो ।’
त्यसपछि उहाँले थप्नुभयो, ‘खबरदारी गरेन भने सरकार लापरवाह हुँदोरहेछ । जस्तो अहिलेको सरकारप्रति खबरदारी पुगेन कि जस्तो छ । संविधानको मतलब छैन । कानूनको मतलब छैन । सञ्चारमाध्यम उतै छन् । त्यसकारण सरकारले अनुकूलता ठानेको छ । जसले गर्दा सरकारले गल्ती गर्दैछ । संविधान मिचिँदा पनि सञ्चारमाध्यम चुपै लागेको जस्तो देखिएको छ ।’













प्रतिक्रिया दिनुहोस्