काठमाडौं, असोज १३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका प्रत्यासी डा. बद्री केसी आफ्नो टीम छनोट गर्नुभएको छ । लामो गृहकार्यपछि सवै पार्टी निकट र बिभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेका अभियन्तालाई समेटेर टीम निर्माण गरी चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रनुभएको हो । राजनीतिक, क्षेत्रगत र जनजातिको सहभागिताको हिसाबले समावेशी समूह बनाएर केसी चुनावी मैदानमा उत्रनुभएको छ ।
वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहनुभएका केसीले आफ्नो एजेण्डासँग सहमत उम्मेदवारहरुलाई साथमा लिएर औपचारिक रुपमा उम्मेदवारी घोषणाको अन्तिम तयारीमा रहेको बताउनु भयो ।
डा केसी समूहबाट ६ जना उपाध्यक्षहरु (एक महिला र एक युवा अनिवार्य) उम्मेदवारहरुको टुङ्गो लागेको छ। उपाध्यक्षका उम्मेदवारहरुमा डा. हेमराज शर्मा (यूके), महेश कुमार श्रेष्ठ (जापान), डिबी क्षेत्री (ओमान) र धर्मराज अधिकारी (अष्ट्रेलिया) रहेका छन् । महिला उपाध्यक्षमा यसमिन बेगम सैयदले (साउदी अरब) र युवा उपाध्यक्षमा रोशन थापा (अफ्रिका) बाट उम्मेदवारी दिने टुंगो भएको छ।
यस्तै महासचिवमा गौरीराज जोशी (अमेरिका) उम्मेद्वार बन्नुभएको छ । जोशी वर्तमान कार्यसमितिका सचिव समेत हुनुहुन्छ । एक महिला अनिवार्यसहितको ४ जना सचिव पदका उम्मेदवारहरुमा रामशरण सिम्खडा (यूके), चिरन्जीबी घिमिरे (क्यानाडा), ओम गुरुङ (जापान) र महिलातर्फ राधिका (टिका) गुरुङ (हङकङ) रहनुभएको छ । कोषाध्यक्ष पदमा लोकप्रसाद दाहाल (बेल्जियम) को नाम तय भएको छ ।

सहकोषाध्यक्ष पदको उम्मेदवार भने टुंग्गो लगाउन बाँकी छ । तर महिला सहकोषाध्यक्षमा भने यमुना भट्टराई (अमेरिका) को नाम चयन भएको छ । यस्तै, महिला संयोजकमा संगीता मरहठ्ठा (यूके) र युवा संयोजकमा मिलन छन्त्यालको (आयरल्याण्ड) ले उम्मेदवारी दिने तय भएको छ ।
अध्यक्षका प्रत्यासी केसीले सवै बिचार र क्षेत्र समेटेर टीम निर्माण गरिएको बताउनु भयो । ‘हरेक व्यक्तिको आस्था वा राजनीतिक विचारधारा हुन्छ । एनआरएनमा राजनीतिक विचारधारा नल्याइकिन कमसेकम स्वतन्त्र भएर काम गर्नका लागि नै सबै राजनीतिक विचारधाराका सबै मान्छेहरुलाई समेटेकै हो,’ जनताटाइम्ससँग केसीले भन्नुभयो । उहाँले आफ्नो एजेण्डासँग सहमत उम्मेदवारहरुलाई साथमा लिएको जानकारी दिनुभयो ।
डा. केसी टीमले चलाखीपूर्वक राजनीतिक गठबन्धन मिलाएर समूह बनाएको छ। केसी समूहमा प्रजातान्त्रिक विचारधारका डा. हेमराज शर्मा, महेश श्रेष्ठ, यसमिन बेगम र रोशन थापालाई समेटेको छ । नेकपा (माओवादी केन्द्र) निकटको डिबी क्षेत्री, लोक दाहाल,ओम गुरुङ, मिलन छन्त्याल र संगीता मरहठ्ठा हुनुहुन्छ।
अष्ट्रेलियाका धर्मराज अधिकारीलाई माधव नेपाल समूह अर्थात नेकपा एमाले (समाजवादी) निकटको रुपमा हेरिन्छ। नेकपा एमाले निकटका रुपमा रामशरण सिम्खडा, चिरन्जीबी घिमिरे हुनुहुन्छ। आगामी अक्टोबर २३(२५ सम्म काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चुन्नेछ। नेतृत्वका लागि केसीसहित बेलायतका कुल आचार्य र अमेरिकाका रबिना थापा मैदानमा उत्रनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्