जनता टाइम्स

१४ आश्विन २०७८, बिहीबार ११:५८

दलबलसहित बालुवाटार पुगे एमाले उपमहासचिव बिष्णु पौडेल


काठमाडौं, असोज १४ । एमाले उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटनुभएको छ । सर्वदलीय बैठक चलिरहेकै बेला पौडेल रूपन्देहीका एमाले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो ।

एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको छ । तर पौडल भने बैठकअघि नै जिल्लाको बिकाशका काम रोकिएकोमा आपत्ति जनाउन जिल्लाका स्थानीय सरकार प्रमुखसहित प्रधानमन्त्री भेटन पुग्नुभएको हो । बुटवलको ज्योतिनगरलगायत चुरे क्षेत्रको पहिरो नियन्त्रण र बुटवल बजारको संरक्षणका लागि विशेष कदम चाल्न एमाले टोलीले प्रधानमन्त्री देउवालाई आग्रह गरेको थियो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएको पौडेल, बुटवल उप-महानगरपालिका मेयर शिवराज सुवेदी, एमाले बुटवलका अध्यक्ष बाबुराम पन्थी, पहिरो प्रभावित क्षेत्रका वडाअध्यक्षहरूसहित बालुवाटार पुग्नुभएको थियो ।