काठमाडौं, असोज १४ । मानव बेचविखनबाट प्रभावितको उद्धार सम्वन्धमा ठोस नीति/निर्देशिका बनाउन सरोकारवालाले माग गरेका छन् । महिला तथा बालबालिका बेचबिखनविरूद्ध सहकर्मी समूह नेपाल (एटविन) द्वारा हिजो राजधानीमा आयोजित कार्यक्रममा मानव बेचबिखनमा परेका महिला/बालबालिका नीतिको अभावमा उद्धार गर्न कठिनाई भइरहेको भन्दै त्यस्तो नीति/निर्देशिका बनाउन सरोकारवाला, अधिकारकर्मी तथा अभियन्ताले माग गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आफुले महिला हिंसाबिरूद्ध अभियानमा लागेको तीन दशकको अनुभवमा मानव बेचविखनको स्वरूप बदलिरहेको बताउनुभयो । उहाँले मानव बेचविखनमा परेकालाई उद्धार गरेर स्वदेश ल्याउन राष्ट्रिय/अन्तर्राष्ट्रिय तहमा समन्वयको लागि नीति/निर्देशिका बनाउन आयोगले सरोकारवाला मन्त्रालय,संस्था र नागरिक समाजसँग सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरूङले उक्त नीतिको माग गरेको करिब दस वर्ष वित्दासमेत नीति नआउँदा विदेश तथा स्वदेशमै बेचविखनमा परेकाको उद्धारका लागि ज्यादै कठिनाई भइरहेको अनुभव सुनाउनुभयो । त्यसैगरी शक्ति समुहका अध्यक्ष चरीमाया तामाङले नीति बनाउँदा मानव बेचविखनबाट प्रभावितको मानवअधिकारको समेत हनन नहुने गरी सहज, सरल तरिकाले उद्धार तथा पुनस्थार्पना गर्न सकिने बुँदा समावेश हुनुपर्ने बताउनुभयो ।
माइती नेपालमा कार्यरत अधिवक्त उमा तामाङले हालसम्म पीडितको उद्धार गर्दा उद्धारकर्ता तथा संस्थागत जोखिममै गर्र्दै आएको बताउँदै देशको ठूलो समस्या रहेको यस क्षेत्रको कामलाई सहज बनाउन नीति बन्न ढिला भएको बताउनुभयो । आफन्त नेपालका निर्देशक इन्द्र भट्टराईले भारतमा संस्थाको शाखा रहेकोले त्यहाँ पीडित भएकाको उद्धारका लागि केही पहल गर्दै आएपनि तेस्रो मुलुकमा पीडित भएका नेपालीको उद्धारमा समस्या रहेको बताउनुभयो ।

मानव बेचविखन परेका कतिपय महिला, बालबालिकालाई परिवारले सहयोग नगर्दा उद्धार तथा पुनस्थार्पनामा कठिन भइरहेको बताउँदै त्यस्तो पीडितलाई राज्यले राज्यले सञ्चालन गरेको पुनस्थार्पना केन्द्रमा राख्ने व्यवस्था हुनुपर्ने बताउनुभयो । सो अवसरमा नेपाल प्रहरी एसएसपी दुर्गा सिंहले नीतिको अभावमा वैदेशिक रोजगारीमा पुगेर ठगीमा परेकालाई उद्धार गर्न नसकेको घटनाहरू पनि रहेको बताउनुभयो ।
उहाँले नेपाली भिजिट भिषा लिएर भएपनि बैदेशिक रोजगारीमा जान्छन्, त्यहाँ रोजगारी दिनेले राहदानीलगायतका दस्तावेज खोसेर कब्जामा राखेका कारण कानुनी दस्तावेजको अभावमा उद्धार गर्न कठिनाई नसक्दा धेरै नेपालीको उद्धारमा समस्या देखिएको बताउनुभयो । सिविन नेपालका बाल हेल्प लाइन प्रमुख सागर भण्डारीले बेचविखनमा परेका बालबालिकाको जन्मदर्ताको अभावमा उद्धार गर्न समस्या हुँदा स्थानिय सरकारले समेत सहयोग नगरेको अनुभव सुनाउनुभयो ।














प्रतिक्रिया दिनुहोस्