जनता टाइम्स

१४ आश्विन २०७८, बिहीबार २०:३०

मलाई पनि चन्द्रशेखरको जस्तै आत्महत्या गर्ने सोच आयो : प्रचण्ड


काठमाडौं, असोज १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्महत्या गर्ने सोच आएको बताउनु भएको छ । अनेरास्वबियू क्रान्तिकारीको आजबाट सुरु भएको राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी भित्रकै नेता कार्यकर्ताको ब्यवहार देखेर यस्तो सोच आफूमा आएको बताउनु भएको हो ।

उहाँले आफूले पनि चन्द्रशेखर आजाद जस्तै सुसाइड गर्नुपर्ने हो कि भनेर चिन्ता पनि व्यक्त गर्नुभयो । भारतका क्रान्तिकारी नेता चन्द्रशेखर आजादले आत्मसमर्पण नगरेर आजाद रहने भन्दै सुसाइड गरेजस्तै अवस्था आफ्नो हकमा पनि आउने हो कि भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘हिजो जनयुद्धमा घेरा हाल्ने र सखाप पार्ने रणनीति थियो । घेरा तोड्ने र प्रतिरोध गरेर परास्त गर्ने गर्यौँ । अहिले फेरि त्यही प्रवृत्ति दोहोरियो’, प्रचण्डले भन्नुभयो, ‘अहिले फेरि लडाइँ गर्ने कि छाडिदिने ? यति रहेछ भनेर रोकिने ?’

प्रचण्डले आफूले आत्मसमर्पण गर्न नसक्ने भन्दै कि लड्नुपर्ने कि सुसाइड गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो । ‘भगत सिंहको फिल्ममा चन्द्रशेखरले लड्दै गर्दा चारैतिर घेरा हालिएको हुन्छ । प्रतिक्रियावादीले मार्ने नै भए भनेर चन्द्रशेखरले माटो समातेर मैले यति नै सकेँ आमा भनेर आत्महत्या गरे । झण्डैझण्डै मेरो अगाडि त्यही अवस्था छ’, प्रचण्डले भन्नुभयो, ‘मैले आत्मसमर्पण गर्न सक्दिनँ । यत्रो शहीद, बेपत्ता परिवारको ऋण मेरो टाउकोमाथि छ । या त सक्दिनँ भनेर सुसाइड गर्नुपर्यो । सबै सुसाइड नकारात्मक हुँदैनन है ! माक्रसका छोरी–ज्वाइँले पनि सुसाइड गरेका थिए ।’

प्रचण्डले या सुसाइड रोज्नुपर्ने वा फेरि लड्नुपर्ने विकल्प बाँकी रहेको बतउनु भयो । ‘या त फेरि लड्नुपर्छ । जोखिम उठाएर लड्ने, जेल जानुपर्छ वा मर्नुपर्छ भने पनि मर्ने । तर, कुनै हालतमा प्रतिक्रियावादी शक्तिका अगाडि नझुक्ने भनेर हामीले संघर्ष गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘क्रान्ति गरेको नेता अवसरवादी भएर मर्नुपर्यो भने पीडा हुन्छ ।’

क्रान्तिकारी चरित्रमा ह्रास

अध्यक्ष दाहालले माओवादीको क्रान्तिकारी चरित्रमा विस्तारै ह्रास आएको पनि बताउनु भयो । ‘क्रान्ति, परिवर्तन र उत्पादनका निम्ति क्रान्तिकारी भएर काम गर्ने कुरामा स्खलन भएको छ । विस्तारै थाहा नपाईकन अरू दल जस्तै उस्तैउस्तै हुँदै जाने खतरा बढेको छ । पद, पैसा, कमिसनको निम्ति, दलाल, कमिसनखोरका हितका निम्ति बढी संवेदनशील हुने र घाइते अपांग, बेपत्ता परिवारलाई बिर्सिने प्रवृत्ति देखिएको छ’, प्रचण्डको भनाई थियो । जो जति माथि पुग्यो, त्यो त्यति अवरसरवादी देखिएको, जो जति धेरै मन्त्री बन्यो, त्यति नै अवसरवादी भएको भन्दै उनले आक्रोश पनि पोख्नुभयो ।

‘जसलाई धेरै मन्त्री बनाएँ, त्यो पतन भयो । दलालसँग गयो, जनतासँग बिच्छेद भयो, हिजो पार्टीलाई सर्वश्व बुझाउने, सम्पत्ति बुझाउने, लड्न जान पाइएन भनेर रुने साथीहरू आज पद पाइनँ भनेर रुने, पैसा पाइनँ, मन्त्री पाइनँ भनेर रुने भयौँ । थाहै नपाईकन क्रान्तिकारी विरासत गुमाउँदै छौँ,’ आफ्नै पार्टीका नेता–कार्यकर्तामाथि आक्रोश पोख्दै प्रचण्डले भन्नुभयो ।