जनता टाइम्स

१४ आश्विन २०७८, बिहीबार २२:४२

उत्तराधिकारी घोषणा गर्ने गल्ती गर्दिनँ : प्रचण्ड


काठमाडौं असोज १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्तराधिकारी घोषणा गर्ने गल्ती आफूले नगर्ने बताउनुभयो । यद्यपि विचार, राजनीति र योजनासहित आए र पार्टीले पास गरे नेतृत्व छाड्न तयार रहेको उहाँले बताउनुभयो ।

अनेरास्वबियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो – हुँदाहुँदा त भित्रकै साथीहरुले भन्न थाले अब प्रचण्डबाट केही माखो मर्दैन भन्छन् । मलाई त अनौठो लाग्छ हेर्नुस् । साथीहरुले नै भनेको सुन्छु मैले । मेरै अगाडी त भन्दैनन् । मेरो अगाडी त तपाई नै हो तपाई बाहेक कोही छैन भन्छन् । तर पछाडी गएर अब प्रचण्डबाट केही हुँदैन है अब हामीले अर्को तयारी । साच्चै गरिदिने साथी भए, यसले सबैलाई समेटेर लाने भयो भने त हेर्नुस् म त बसेर किताब लेख्न पाए म सबभन्दा खुशी हुन्थे । तर यसो हेर्छु छाँट । त्यसपटक यो लास्ट अबसर एकचोटी म लडाइँ लड्छु । त्यसो भन्ने साथीहरुलाई म सहृदयतापूर्वक तपाईहरु विचार योजना र कार्यक्रमसहित आउनुस् । तपाईको राम्रो भयो र पार्टीले पास गर्यो भने तपाईलाई धन्यवाद दिएर उत्तराधिकारी घोषणा गरेर हिड्छु म चाहीँ । तर माओले लिनप्याओलाई गरेको जस्तो अहिले नै भन्दिने जस्तो गल्ती चाहीँ म चाहीँ गर्दिन । लिनप्याओलाई उत्तराधिकारी भनेको त त्यही लिनप्याओले माओलाई गोलि हान्न हिड्यो । उत्तराधिकारी भनेपछि त त्यो त काल रहेछ । म किन भन्ने म त्यो भन्दिनँ । राम्रो काम गरेर आउने साथीहरुलाई मैले बाटो छोडिदिन्छु भनिराखेकै छु मैले । त्यसकारण एकपटक हामी जाग्नुपर्यो भन्ने हो ।’