प्रकाश तिम्सिना / सुनसरी, १६ असोज । चाडपर्वको मुखमा सरकारले भारतीय सीमानाका खुल्ला गरिदिएपछि नेपालका मुख्य व्यापारिक केन्द्र सुनसान बनेका छन् । लामो समयदेखि कोभिड–१९ संक्रमण महामारीका कारण बन्द रहेको छिमेकी नाका जोगबनी खुल्ला गरेसँगै नेपाली व्यापारी केन्द्र विराटनगर, इटहरी, धरानलगायतका बजार सुनसान बनेका हुन् ।
दशैँ तिहारलाई चाहिने, खाद्यान्न, लत्ताकपडा सहज रूपमा ग्राहक आफैँले भित्र्याएपछि व्यापारी चिन्तित बनेका छ। इटहरीको मुख्य बजारमा ३० वर्षदेखि होलसेल व्यापार गर्दै आएका सुवास चन्द्र साह यो वर्ष अहिलेसम्मकै व्यापारमा मन्दी आएको बताउनुहुन्छ । भारतीय सीमानाका बन्द हुँदासम्म ३ जना कर्मचारी राख्नुभएको उहाँले सीमानाका खुलेपछि २ जनालाई हटाउन बाध्य भएको बताउनुभयो ।
दशैँको मुखमा दैनिक ४ देखि ५ लाख सम्मको व्यापार हुनेमा अहिले ८० हजार पनि हुन गाह्रो रहेको साह बताउनुहुन्छ । उहाँजस्तै खाद्यान्न तथा थोक किराना व्यापार गर्दै आएका राम साह पनि यो वर्ष व्यापार घटेको बताउँनुहुन्छ । लामो समयदेखि बन्द घरमा बसेका स्थानीय नजिकैको नाका खुलेसँगै जोगबनीबाट चाडपर्वलाई चाहिने सामान ल्याउने गरेको उहाँको भनाइ छ ।
दशैँको मुखमा दैनिक २ देखि ३ लाखसम्म हुने आर्थिक कारोबार अहिले जेनतेन ७० हजारसम्म मात्रै हुने उहाँ बताउनुभहुन्छ । साहजस्तै हङकङ मार्केटमा कपडा व्यवसाय गर्दै आउनुभएको बाबुराम सुवेदी पनि निराश हुनुहुन्छ । चाडपर्वमा कपडा बिक्रीका लागि लाखौं लगानी गरेर ल्याएका कपडा बिक्री नहुँदा बैंकको ऋण के गरी तिर्ने भन्ने समस्यामा परेको बताउनुभयो ।
इटहरीमात्रै हैन पूर्वी पहाडी छिर्ने नाकाको रूपमा रहेको व्यस्त शहर धरान पनि सुनसान छ । कोरोनाको चपेटामा परेका व्यापारी दशैँ लागेसँगै खरीद बिक्री बढाउने आशमा थिए । सरकारले १५ दिनअघि नाका खुला गरेपछि व्यस्त शहरमा आर्थिक मन्दी लागेको छ । त्यसो त थोरै सामान खरीद गर्न स्थानीय भारतीय बजार जाने गर्दैनन् । तर एकैपटक धेरै सामान जोहो गर्ने नेपालीहरू भने भारतीय बजार नै जाने गर्छन् । इटहरीका २० का तेज वन लामो समयदेखि बन्द रहेको भारतीय नाका खुलेसँगै आवतजावत बढेको बताउँछन् ।
नेपाली बजारमा चिनी ८० देखि ८५ रुपैयाँ प्रति केजी पाइन्छ तर भारतीय बजार भने ५८ रुपैंयामा पाइन्छ । त्यस्तै जिरा, धनियाँ र खानेतेल एक सय देखि २ सयसम्म सस्तो हुने भएकाले भारतीय बजार गएको उहाँले बताउनुभयो । वनजस्तै इटहरी ५ कि विनीता कटवाल पनि स्थानीय बजारभन्दा जोगबनीमा सस्तोमा सामान किन्न पाइने भएकाले आफू पनि दशैं तिहारका लागि चाहिने खाद्यान्न लत्ता कपडा खरीद गरेको बताउनुभयो । न्युज कारखाना













प्रतिक्रिया दिनुहोस्