जनता टाइम्स

१७ आश्विन २०७८, आईतवार ०९:०३

देशभरको मौसम : प्रदेश १ र २ मा ‘भारी’ वर्षाको सम्भावना


काठमाडौँ, असोज १७ । भारतको विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले नेपालको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाअनुसार हाल प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । यस्तै प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

आज (आइतबार) बिहान आगामी तीन दिनको मौसम विश्लेषण गरी जारी गरिएको मौसम पूर्वानुमान बुलेटिनअनुसार आइतबार बेलुकीसम्म देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ भने प्रदेश १, प्रदेश २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

भोलि (सोमबार) पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । प्रदेश १ का एक–दुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना छ ।

यसै गरी पर्सी (मंगलबार) केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले छ ।

उक्त स्थानहरूका पहाडी भू(भागमा भू क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेका छ ।