जनता टाइम्स

१८ आश्विन २०७८, सोमबार ११:००

दीपक खड्काको ऐतिहासिक रेकर्ड, १० गुणा बढीको मतान्तरले जिते सभापति


संखुवासभा, असोज १८ । नेपाली कांग्रेस संखुवासभा सभापतिमा दीपक खड्का निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी रामबहादुर राईलाई भारी मतान्तरले पराजित गर्दै खड्का सभापति पदमा निर्वािचत हुनुभएको हो । कुल खसेको एक हजार ३ सय ४९ मतमा खड्काले एक हजार १ सय ९८ ल्याउनु भयो भने राईले ११० मत मात्रै प्राप्त गर्नुभयो ।

खड्का २०७० सालको संखुवासभा क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भइ खानेपानी तथा सरसफाई राज्यमन्त्री हुनुभएको थियो । यस्तै उपसभापतिमा रामकुमार जिमी ९१६, अनन्त गौली ६७०, सचिवमा टकमान घले एक हजार ४५ र कुमारबाबु अधिकारी ७४३ मत ल्याएर विजयी हुनुभएको छ ।

यसैगरी सहसचिवमा किशोरकुमार गुरुङ ६६७ र सुवास कालाखेती ६०५ मत ल्याएर विजयी हुनुभएको छ । सभापति खड्का कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुनुहुन्छ । जिल्ला कार्यसमिति चयनका लागि सहमति नभएपछि शनिबार मतदान भएको थियो । कांग्रेसको जिल्ला कार्यसमितिमा ४२ पद र केन्द्रीय महाधिवेशन प्रतिनिधि २६ पदका लागि मतदान भएको हो ।