जनता टाइम्स

१८ आश्विन २०७८, सोमबार १८:२१

अदालतको फैसलाको भ्रम टुट्यो, केपी ओली नायकका रुपमा स्थापित हुनुभयो : शंकर पोखरेल (भिडियो)


काठमाडौं, असोज १८ । नेकपा एमालेमा नेता शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली नेपाली समाजको नायकको रुपमा स्थापित हुनुभएको तथ्य राख्नुभएको छ । एमाले स्थानीय निकाय बिभागले काठमाडौंमा आज आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलामा बोल्दै स्थायी कमिटी सदस्य पोखरेलले यस्तो तथ्य सुनाउनु भएको हो ।

नेता पोखरेलले केपी ओलीको कारण नेपाल अस्थिरताबाट जोगिएको पनि बताउनुभयो । संविधान बनाउने बेलामा भएका ठूला ठूला चलखेललाई ओलीको अडानले निस्तेज पारेको उहाँले स्मरण गराउनुभयो । एमालेले राष्ट्र विरोधी र अस्थिरता विरोधी शक्तिविरुद्धको आडानकै कारण स्थानीय निर्वाचनमा अपार सफलता प्राप्त गरेको पोखरेलको भनाई थियो ।

नेकपा एमालेको स्थानीय सरकारमा बलियो उपस्थितिको आधार नै पार्टी अध्यक्ष केपी शर्मा ओली भएको उहाँले प्रष्ट पार्नुभयो । नेकपा एमाले फुटको प्रभाव स्थानीय सरकारमा नपरेको पनि उहाँले बताउनुभयो । नेता पोखरेलले पछिल्लो घटनाक्रममले सर्वाेच्च अदालतको फैसला कसरी आयो भन्ने तथ्यलाई छर्लंग पारिसकेको समेत बताउनु भयो । ‘अदालतको फैसला कसरी आयो भन्ने कुरा अव कुनै भ्रम रहेन,’ पोखरेलले भन्नुभयो ।