काठमाडौं, १९ असोज । मंगलबार सत्ता गठबन्धनले मन्त्रालय बाँडफाँटको टुंगो लगाएको छ । बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो । स्रोतका अनुसार माओवादी केन्द्रको भागमा ५ मन्त्रालय परेका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) र जसपाले बराबरी चार-चार मन्त्रालय लिनेछन् । नेपाली कांग्रेसले ६ मन्त्रालय मात्र लिनेछ ।
यसअघिको सहमति अनुसार सबै दलहरुबाट मन्त्रालय संख्या कटौती गरिएको छ । यस्तै दुई मन्त्रालय अहिलेलाई (जगेडा) राखिएको छ । ती मन्त्रालय तत्काल देउवासँगै रहने र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा आए उसलाई दिने सहमति दलहरुले गरेका छन् । प्रधानमन्त्रीले आफूसँग राखेका मन्त्रालयका विषयमा खुलाइएको छैन ।
गठबन्धनका नेताहरूको आजै साँझ बस्ने बैठकमा दलहरूका तर्फबाट शीर्ष नेताले नाम दिनेछन् । त्यसपछि प्रधानमन्त्रीले आजै वा भोलि बिहान मन्त्रीहरूको शपथग्रहणको तयारी गर्ने बालुवाटार स्रोतले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्