जनता टाइम्स

१९ आश्विन २०७८, मंगलवार १८:३१

नेकपा एसले रक्षासहित पाँच मन्त्रालयमा को–को पठाउँदै छ मन्त्री ?



काठमाडौं, असोज १९ । एमालेबाट बिभाजित भइ माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पाँच ओटा मन्त्रालय पाएको छ । एकीकृत समाजवादीले रक्षासहित पाँच मन्त्रालय पाउने टुंगो लागेको हो । आज बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाएको हो ।

जसअनुसार एकीकृत समाजवादीले रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ । सो पार्टीले एक राज्यमन्त्री पनि पाउने सहमति भएको छ । मन्त्रालयको सहमतिसँगै अध्यक्ष नेपालले मन्त्रीहरुको नाम टुंग्याउने गृहकार्य थाल्नुभएको छ ।

नेकपा एसका एक नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार सरकारमा पार्टीबाट नेृृत्वका लागि नेता मुकुन्द न्यौपाने, सचिव रामकुमारी झाँक्री र केन्द्रीय सदस्य बिरोध खतिवडाले दावी गरिरहनु भएको छ । महासचिव डा. बेदुराम भुसाल सरकारमा जान नहुने पार्टीभित्रको अडानका कारण अध्यक्ष नेपाल भने बिरोध खतिवडाको नेतृत्वमा सरकारमा पठाउने योजनामा हुनुहुन्छ ।

यसैगरी मन्त्रीका लागि खतिवडा, झाँक्री र न्यौपानेसहित कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, भेटमणि चौधरी, भवानी खापुङ, प्रेम आले र किसान श्रेष्ठमध्येबाट पठाउने नेपालको योजना रहेको छ । केन्द्रीय समितिमा रहेका नेताहरुले पदाधिकारीकै नेतृत्वमा सरकारमा पठाउनु पर्ने सुझाव दिए पनि अध्यक्ष नेपालले बिरोध खतिवडा पुराना नेता भएको कारण पदाधिकारी उहाँको मातहतमा जाँदा खासै फरक नपर्ने निर्णय सुनाउनु भएको छ ।