काठमाडौं, २० असोज । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सान्दर्भिकता सकिएको बताउनुभयो । राष्ट्रिय युवा संघ नेपाल धनगढीमाई नगर कमिटीद्वारा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले सबैले छाड्न थालेपछि प्रचण्डको चिच्याहट सुरु भएको टिप्पणी गर्नुभयो।
माओवादीका घाइते अपाङ्ग लडाकुहरु अलपत्र परेर सडकमा हिँडिरहेका छन् । अरब गएर भेडा चराइरहेका छन् । अध्यक्ष प्रचण्ड आफ्ना आसेपासे वरीपरी राख्नुहुन्छ । छोरीलाई मेयर, ज्वाइलाई राजदूत चाहिएको छ । सारा कालो सम्पत्ति सुमार्गीमार्फत ब्रिटेन आइल्याण्डमा लगेर पैसा थुपार्नुहुन्छ, उहाँले भन्नुभयो । बस्नेतले थप्नुभयो आज प्रचण्डलाई पापको भारीले पोलेको छ । अब नेपालको राजनीतिमा प्रचण्डको सान्दर्भिकता सकिएको छ । त्यहीँ भएर उहाँमा बरबराहहट सुरु भएको छ । चिच्याहट सुरु भएको छ । अनि केपी ओली र एमालेविरुद्ध बरबराउन थाल्नुभएको छ ।
बस्नेतले सान्दर्भिकता सकिएका प्रचण्डलाई अब आश्रममा राख्नुपर्ने बताउनुभयो उहाँले भन्नुभयो, ‘अब प्रचण्डलाई कि प्रेसरको औषधि दिने हो कि कृष्णप्रसाद भट्टराईलाई हाम्रो सरकारले गोदावरीमा आश्रम बनाएर राखेजस्तै अब प्रचण्डलाई हामी एउटा राम्रो आश्रम बनाएर शिवपुरीको डाँडा नजिक राख्ने हो । प्रचण्डलाई देशको जिम्मा दिने होइन । सान्दर्भिकता सकिएको हो ।
एमालेलाई प्रचण्डले विभाजन गर्न कुनै कसर नछोडेको उहाँको आरोप छ । मधेसका समस्या समाधान गर्ने एमाले हो भन्ने पुष्टि भएको बस्नेतले दाबी गर्नुभयो । ‘सुकुम्बासी आयोग बनाउने एमाले हो । कांग्रेस माओवादी मधेसवादी मिलेर आयोग भंग गरे । भूमिहीनलाई लात हाने, उहाँले भन्नुभयो । भ्रष्टाचारी र अपराधीले तस्करी गरेको कालोधनलाई सरकारले वैध बनाउन खोजेको उहाँको आरोप छ । यो देशलाई भूमाफियाको स्वर्ग बनाउँदैछन्,’ उहाँले भन्नुभयो। उहाँले कांग्रेस झुटो आश्वासन बाँड्ने पार्टी भएको बताउनुभयो ।
‘आश्वासन दिने पार्टी हो कांग्रेस । बहाना बनाएर फेरि आउँछन् । अब स्थानीय, प्रदेश, संघ चुनाव हुँदैछ । झाकी ओढेर, सिंगार पटार गरेर आउनेछन् । तपाई झुक्किनु हुनेछैन । विकास र समृद्धिका लागि एमाले नै हो,’ उहाँले भन्नुभयो । आश्वासन दिने र बहाना बनाउने कांग्रेसको राजनीति मधेसबाट सदा सदाका लागि समाप्त गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।













प्रतिक्रिया दिनुहोस्