जनता टाइम्स

२२ आश्विन २०७८, शुक्रबार ११:२४

मन्त्री चयनमा जसपामा लफडा, उपेन्द्रको निर्णयमा बाबुरामको कडा आपत्ति


काठमाडौं, असोज २२ । मन्त्री छान्ने विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) मा विवाद देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुँदा आफ्नो भागमा परेको ४ मन्त्री चयन गर्ने विषयमा जसपाका अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईबीच विवाद देखिएको हो।

अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई कार्यकारिणी समितिको बुधबारको बैठकले पार्टीको कोटाबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम छान्न जिम्मा दिएको थियो। अध्यक्ष यादवले भट्टराई समुहलाई एक जना मात्रै मन्त्री दिएर तीन जना आफ्नै निकट राखेपछि अध्यक्ष भट्टराई र वरिष्ठ नेता राईले आपत्ति जनाउनु भएको हो ।

स्रोतका अनुसार ’सबै आफ्नोलाई च्याप्न खोजिएको छ र त्यसलाई मानिँदैन। जे मन लाग्छ गर्नुस्’ भन्दै भट्टराई र राईले यादवसँग असन्तुष्टि राखेर हिडनु भएको छ । सत्तारुढ गठबन्धनबीच नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्री र २ राज्यमन्त्री पाउने भएको छ। यस्तै, माओवादी केन्द्रले ५ मन्त्री तथा १ राज्यमन्त्री, एकीकृत समाजवादीले ४ मन्त्री तथा जनता समाजवादी पार्टीले ४ मन्त्री पाउने सहमति भएको छ ।