जनता टाइम्स

२२ आश्विन २०७८, शुक्रबार १२:०५

शून्य कार्बन उत्सर्जनसहितको विकास गर्ने धुलिखेल नगर विश्वको ५ औं नम्बरमा


काठमाडौं, असोज २२ । धुलिखेल सहर शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने संसारका १५ सहरको सूचीमा ५ औं नम्बरमा समावेश भएको छ । उक्त सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानडाको टोरन्टो, स्पेनको बार्सिलोना र अमेरिकाको लस–एन्जल्स पनि रहेको छ । पर्यटकिय नगर काभ्रेको धुलिखेल सूचीको पाँचौं स्थानमा रहेको छ । धुलिखेलले दक्षिण एसियामै पहिलोपटक जीवाश्म इन्धन अप्रसार सन्धी अभियानलाई कार्यान्वयनमा ल्याएको थियो ।

उक्त सन्धि अन्तर्गत रहेर धुलिखेलले आफ्नो नगरक्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई अघि बढाएको छ । नगरप्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले संसारका ठूला र सफा सहरको सूचीमा धुलिखेल पनि समावेश हुनु गौरव र हर्षको कुरा भएको बताउनुभयो । जलवायु परिवर्तनको असरलाई कम गर्न आफूले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री कार्यलाई अघि बढाएको पनि उहाँले सुनाउनुभयो ।

दक्षिण एसियामै पहिलोपटक जीवाश्म इन्धन अप्रसार सन्धी अभियानलाई कार्यान्वयनमा ल्याएको नगर प्रमुख व्याञ्जुले बताउनुभयो । त्यस्तै नगरपालिकाले विहिबार सूचना जारी गर्दै धुलिखेलमा शून्य ग्रीनहाउस ग्याँस उत्सर्जनसहित वातावरणमैत्री विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी महिनामा बेलायतको ग्लास्गोमा हुन लागेको राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ अगाडि यो सूची सार्वजनिक भएको हो ।