जनता टाइम्स

२३ आश्विन २०७८, शनिबार ०८:४१

आज विश्व हुलाक दिवस : नेपालको हुलाक एकादेशको कथा बन्दै


काठमाडौं, २३ असोज । आज ९ अक्टोबर । विश्वभर विभिन्न कार्यक्रमसहित विश्व हुलाक दिवस मनाइँदै छ । ९ अक्टोबर १८७४ का दिन विश्व हुलाक संघको स्थापना भएको दिनलाई हुलाक दिवस मनाउने गरिन्छ । नेपालले सन् १९७६ अर्थात २६ असोज २०१३ बाट विश्व हुलाक संघको सदस्यता पाएपछि मात्र हुलाक दिवस मनाउन थालेको हो ।

यस वर्ष ‘इनोभेट टु रिकभर’ नाराका साथ विश्वभर विश्व हुलाक दिवस मनाइँदैछ । विश्वमा सन् १६३५ बाट आधुनिक हुलाक सेवा सुरु भएको मानिन्छ । कतिपय देशमा अहिले हुलाकको अस्तित्व छैन भने कतिपय देशले हुलाक सेवालाई आधुनिक बनाएका छन् । विश्व हुलाक संघको एक तथ्यांकअनुसार विश्वका १९२ देशमा ५० लाख भन्दा बढी हुलाककर्मी छन् ।

नेपालमा हुलाक सेवा र यसको इतिहास

१९३५ सालमा ‘नेपाल हुलाक घर’ को स्थापना भएसँगै नेपालमा हुलाक सेवाको सुरुवात भएको होे । यसपछि १९३७ मा तारिख टाँचाको पहिलो प्रयोग भएको थियो । १९३८ मा नेपाली हुलाक टिकटको पहिलो प्रकाशन भएको थियो । १९९३ मा नेपाल र भारतबीच सम्झौता भएपछि नेपाली र भारतीय टिकटको प्रयोगमा भारतमा र नेपालबीच पत्र पठाउने कामको सुरुवात भएको थियो ।

१ वैशाख २०१६ देखि नेपालले अन्तर्राष्ट्रिय हुलाक सेवा सञ्चालनमा ल्याएको थियो । सञ्चारका अन्य माध्यमको विकास भएसँगै हुलाक सेवा पछिल्लो समय ओझेलमा पर्दै भएको छ । सञ्चारका अन्य माध्यमको विकास तथा पहुँच बढ्दै गएपछि नेपालमा अहिले हुलाक सेवा संकटमा परेको छ । सरकारले उपत्यकामा सञ्चालन भइरहेको घुम्ती हुलाक सेवालाई देशभर लैजाने भने पनि अहिलेसम्म त्यसमा कुनै काम भने हुन सकेको छैन ।