जनता टाइम्स

२३ आश्विन २०७८, शनिबार १७:३६

धन्सार डटकमद्धारा फोटो प्रगियोगिता आयोजना, तीन विषयका तस्विर समावेश गर्न पाइने


काठमाडौं, असोज २३ । धन्सार डटकमले प्रकृति, संस्कृति र जीवनशैलीमा आधारित तस्विरहरुको राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ । ‘फरेभर नेपाल’ नाम दिइएको उक्त प्रतियोगिता आगामी मंसिरमा हुने भएको हो । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै संस्थापक विनोद अधिकारीले आगामी कात्तिक मसान्तभित्र सहभागिताका लागि फोटो पठाउन आग्रह गर्नुभयो ।

तीन विषयवस्तुका तस्विरहरु प्रत्येकको तीन/तीन जना गरी नौ जना फोटो पत्रकारलाई पुरस्कारका लागि छनोट गरिने धन्सारका संस्थापक अधिकारीले जानकारी दिनुभयो ।

पुरस्कारको राशी प्रथमलाई रु ३३ हजार, द्धितीयलाई रु २२ हजार र तृतीयलाई रु ११ हजार दिइने जनाइएको छ । छनोटका क्रममा ४० प्रतिशत नम्बर सार्वजनिक मत र ६० प्रतिशत मत निर्णायकबाट लिइनेछ ।

छनोटका लागि वरिष्ठ फोटो पत्रकार विकास रौनियारको संयोजकत्वमा फोटो पत्रकार क्लवका अध्यक्ष स्रुति श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त, केपीएका अध्यक्ष दिगम्बर राजवंशी, फोटो पत्रकार विकास खतिवडा र म्युजिएम अफ नेपाली आर्टस्का कार्यकारी निर्देशक राजन शाक्य रहने बताइएको छ । निर्णायक समितिका संयोजक रौनियारले आफूहरुले व्यावसायिक र स्वतन्त्ररुपमा प्राप्त फोटोहरुलाई छनोट गरेर पुरस्कृत गरिने बताउनुभयो ।