जनता टाइम्स

२४ आश्विन २०७८, आईतवार १८:३९

लुम्बिनीमा दुई महिनापछि सरकारले पायो पुर्णता, बन्यो जम्बो मन्त्रिमण्डल


रूपन्देही, असोज २४ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको दुई महिनापछि मन्त्रिमण्डल विस्तार गरेर १७ सदस्यीय पुर्‍याइएको छ । पाँच दलीय गठबन्धनमा मुख्यमन्त्री बन्नुभएका माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले आज मन्त्रिमण्डललाई पूर्णता दिनुभएको हो ।

संघ र प्रदेशमा गठबन्धनका दलहरूबीच भागबन्डा मिलेपछि आज सात मन्त्री र ३ राज्यमन्त्रीसहित १० जनाले सपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको छ । बिस्तारित मन्त्रिपरिषदमा कांग्रेसबाट पाल्पाका वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाई, बाँकेका सुरेन्द्रबहादुर हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री र रुपन्देहीका बसिउद्दिन खाँले शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

यस्तै कांग्रेसबाट राज्यमन्त्रीमा दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रिना नेपाल विकले सपथ लिनुभएको छ । श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र बिकलाई पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ । यस्तै माओवादी केन्द्रबाट बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्‍चार, दाङका इन्द्रजित थारू स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री हुनुभएको छ ।

यसैगरी माओवादीबाट दाङकी विमलाकुमारी वली खत्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री र कपिलवस्तुकी सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री हुनुभएको छ । यसैगरी नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती कानून, महिला, बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुनुभएको छ । लुम्बिनीमा गत साउन २८ गते माओवादी केन्द्रका केसीको नेतृत्वमा नयाँ सरकार बनेको थियो ।