जनता टाइम्स

२४ आश्विन २०७८, आईतवार १९:३४

राजनीतिमा आए पूर्वडिआइजी रमेश खरेल, गरे पार्टी खोल्ने घोषणा


काठमाडौं, असोज २४ । पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले नयाँ पार्टी गठन गर्ने घोषणा गर्नुभएको छ । रत्नपार्कस्थित शान्तिबाटिमा आज पत्रकार सम्मेलन गरी पूर्वडिआइजी खरेलले पार्टी खोल्ने घोषणा गर्नुभएको हो । नेपाल सुशासन अभियानका रूपमा खरेल आफ्ना समर्थकसहित केही समययता निकै सक्रिय देखिनुभएको छ ।

भ्रष्टाचार, अन्याय, अत्यचार र बेथितिविरूद्ध आफ्नो पार्टी सक्रिय रहने खरेलले बताउनु भयो । खरेलले नयाँ पार्टीको विचार, नीति र सिद्धान्तबारे आमरुपमा छलफल गर्ने र त्यो विचार, नीति र सिद्धान्तबारे जनतालाई जानकारी दिएपछि पार्टी स्थापनाको प्रक्रियामा जाने जानकारी दिनुभयो ।
‘देशभरि नेपाल आमाको रगत खानेहरूलाई हामी कानुनी दायरामा ल्याउँछौं,’ खरेलले भन्नुभयो । उहाँले यो रहरले नभएर बाध्यताले गर्दा पार्टी स्थापनामा लागेको बताउनु भयो ।

‘देशमा कुशासन व्याप्त छ । सिंहदरबारका राजनीतिक व्यवसायीले बारम्बार शोषण गरे, जनतालाई कसरी शोषण गर्न सकिन्छ र भ्रष्टाचार कसरी गर्न सकिन्छ भन्ने अभिप्रायले भागबण्डा हुन्छ,’ खरेलले भन्नुभयो, ‘घुस नदिए कुनै अड्डामा काम हुँदैन। आम जनताले बुझ्नुपर्ने कुरा के छ भने सिंहदरबारदेखि तल गाउँसम्म भ्रष्ट प्रवृत्ति । सिंहदरबारले कमिसन र भ्रष्टाचार गर्न सिकाएको छ ।’

उहाँले भ्रष्टाचारीलाई कहिलेसम्म सहिरहने भन्दै अव सवै जाग्नुपर्नै बताउनु भयो । ‘यस्तो अवस्थालाई कति सहेर बस्ने ? कति टुलुटुलु हेरेर बस्ने ? हामी राम्रा मान्छे एक हौं, देशलाई माया गर्ने जनता एक ठाउँमा संगठित हौं,’ खरेलले भन्नुभयो ।