जनता टाइम्स

२४ आश्विन २०७८, आइतबार २०:५१

महासचिव पोखरेलले सुनाए एमाले नेतृत्व ब्यवस्थापनको खाका


काठमाडौं, असोज २४ । एमाले महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा केपी ओलीलाई रहने प्रष्ट पार्नुभएको छ । मुलुकमा भइरहेको दुई ओटा ध्रुविकरणलाई पार्टीको पक्षमा पार्नका लागि ओली नै नेतृत्वमा आवश्यक रहेको निश्कर्ष महासचिव पोखरेलले सुनाउनु भएको हो ।

बडा दशैं, तिहार, नेपाल सम्वत र छठको अवसर पारेर आइतबार सञ्चारकर्मीसँग आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै यस्तो जनाउ दिनुभएको हो । उहाँले मुलुकको राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सुदृढ बनाउनु पर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयो । ‘मुलुकमा अहिले दुई ओटा ध्रुबिकरण छ, त्यस्मा एउटाको नेतृत्व एमालेले गरेको छ, एमालेलाई बिजयी बनाउन नेतृत्वमा हानाथाप गर्नुहुन्न भन्ने एमालेका सवै नेताहरुको सामुहिक निश्कर्ष छ,’ आगामी महाधिवेशनबाट पनि अध्यक्षमा केपी शर्मा ओली नै निरन्तर रहने प्रष्ट पार्दै पोखरेलले भन्नुभयो ।

उहाँले सत्तारूढ गठबन्धनले नेतृत्व गरेको अर्को ध्रुवलाई बलशाली हुन नदिन पनि एमाले नेतृत्वको उक्त ध्रुवलाई बलियो बनाउन जरूरी रहेको बताउनु भयो । महासचिव पोखरेलले आफूले अब पार्टीको महासचिवमा भने नरहने प्रष्ट पार्नुभयो । विधानमा पनि २ पटक भन्दा बढी एउटै पदमा उठ्न नपाउने व्यवस्था गरेको र आफ्नो चाहना पनि तेस्रो पटक महासचिव बन्ने नरहेको उहाँको भनाई छ ।

‘अहिले राष्ट्रिय राजनीति दुईतिर ध्रुवीकृत भएको छ। एउटा ध्रुवको नेतृत्व एमालेले गरेको छ। जुन एमालेलाई केपी ओलीले नेतृत्व गर्नु भएको छ । त्यो ध्रुव मजबुत हुन जरूरी छ । सुदृढ हुन जरूरी छ। ताकि यो अर्को ध्रुव जो अवाञ्छित ढंगले गतिविधि गरिराखेको छ । त्योचाहिँ बलशाली बन्नु हुँदैन भन्ने हाम्रो मान्यता छ। त्यस कारणले हामी राष्ट्रिय राजनीतिको यो परिप्रेक्ष्यमा कुन ठाउँमा उभिनुपर्छ, त्यसका लागि मानसिक रूपमा तयार छौं,’ महासचिव पोखरेलले भन्नुभयो, ‘जहाँसम्म म २ चोटि महासचिव भएँ, अब के हुन्छु ? तेस्रो चोटि महासचिव हुन्न । विधानले पनि दिँदैन । मेरा व्यक्तिगत चाहनाले पनि दिँदैन । तर हामीहरू कुन खालको जिम्मेवारी लिने हो, त्यो जिम्मेवारीका लागि ममात्रै होइन मेरो पार्टीका लिडिङ टिममा रहेका हरेक साथीहरू त्यसका लागि तयार हुनुहुन्छ। जुनसुकै जिम्मेवारी लिनुपर्दा खेरी त्यसको लागि तयार हुनुहुन्छ । यो राष्ट्रिय राजनीतिको स्थिति हो। त्यसलाई सबल बनाउनका लागि हामी लाग्छौं ।’

उहाँले मुलुकमा ताजा जनादेश आवश्यक रहेको पनि बताउनु भयो । ‘यो संसद, संसदलाई नेतृत्व गर्ने व्यक्तिका यी सबै कुराहरू हामी देख्दैछौं, त्यसकारणले ताजा जनादेशमा जानु जरूरी छ। त्यो मुलुकको हितमा छ भन्ने हाम्रो भनाइ हो। यो ताजा जनादेशमा जानका लागि अब शेरबहादुर देउवाजीसित वा अरू कोहीसित मिलेर सरकारका जाने कुरा हुन्छ रे भन्ने पनि सुनियो हाँस पनि उठ्यो मलाई,’ महासचिव पोखरेलले भन्नुभयो, ‘म सबै साथीहरुलाई भन्न चाहन्छु– हामी यो बीचमा सरकार गएर आत्मबल प्राप्त गर्ने योजनामा छैनौं । हामी त्यो ठान्दैनौं। हामी के भन्छौं भने जतिधेरै यो गन्जागोल रहन्छ, मुलुकले त्यति धेरै दुःख पाउँछ। त्यसकारणले जति चाँडो ताजा जनादेशमा जाने कुरा हुन्छ भने त्यो बेटर अप्सन हो भन्ने हामीलाई लाग्छ। तर यो बेटर अप्सन प्राप्त गर्न अस्वभाविक लाग्ने गठबन्धन गर्ने पक्षमा हामी छैनौं।’