जनता टाइम्स

२५ आश्विन २०७८, सोमबार १०:१९

दसैंको मुखमा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यू


अछाम, असोज २५ । अछाममा जन्ती बोकेर फर्किएको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी १४ जना घाइते भएका छन् । आइतबार राति साढे ११ बजे पञ्जदेवल विनायक नगरपालिका वडा नम्बर १ मा विवाहको कार्यक्रमबाट घर फर्कने क्रममा से १ च १७६३ नम्बरको गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा परी पञ्चदेवल विनयाक(२ का अन्दाजी १३ वर्षीय जीवन न्यौपाने, अन्दाजी १५ वर्षीय हिमाल नेपाली, अन्दाजी १८ वर्षीय सर्प बोहोरा र पञ्चदेवल विनयाक ३ का अन्दाजी १६ वर्षीय जीवन जैसीको मृत्यु भएको अछाम प्रहरीका प्रमुख तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

गाडीमा सवार १८ जनामध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको र अर्का १ जनाको उपचारको क्रममा मंगलसेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्थमा गम्भीर भएकाले आइतबार नै नेपालगन्ज रिफर गरिएको थियो । अन्यको जिल्लाका अस्पतालमाहरूमा उपचार भइरहेको छ । जीप ब्याक गर्ने क्रममा सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।