जनता टाइम्स

२५ आश्विन २०७८, सोमबार १६:३०

अखिल फोर्सका कमाण्डरले छाडे माधव नेपालको साथ, आफ्नो टीमसहित अनेरास्ववियुमै फर्किए


काठमाडौं, असोज २५ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीनिकट अखिल फोर्सका केन्द्रीय संयोजक तपेन्द्रजंग शाही नेकपा एमालेमै फर्किनुभएको छ । आरआर क्याम्पसका स्ववियु सभापतिसमेत रहनुभएका सिनेटर शाही औपचारिक रुपमा अखिलमै फर्कनुभएको हो ।

शाहीले एमालेनिकट भ्रातृ संगठन अनेरास्ववियुमा फर्किएपछि सचिवको जिम्मेवारी पाउनुभएको छ । शाहीले आफू नेकपा एकीकृत समाजवादीनिकट संगठनमा नरहेको र मालेनिकट अनेरास्ववियुमै फर्किएको जनताटाइम्सलाई बताउनु भयो । ‘नेताको स्वार्थको पछि लागेर पार्टी छाडन सकिन्न, यही मनको कुराले अहिलमै रहने निर्णयमा हामी पुगेका छौं,’ शाहीले भन्नुभयो ।

राष्ट्रिय युवा संघले युथ फोर्स ब्यूँताएपछि माधव नेपालले आफैं सहभागी भएर अखिल फोर्स घोषणा गर्नुभएको थियो । शाही अनेरास्ववियुमा फर्किएर सचिवको जिम्मेवारीमा क्रियाशिल हुनुभएको छ । शाहीसँग अहिल फोर्सका कोषाध्यक्ष रहनुभएका अनेरास्ववियुका अर्का नेता दिपेश प्रसाई पनि अनेरास्ववियुमै फर्किनुभएको छ ।