जनता टाइम्स

२५ आश्विन २०७८, सोमबार १८:५३

मोतिपुर नरसंहारबाट युवा संघ आक्रोशित, घाइते र मृतकको प्रत्येक थोपा रगतको मूल्य चुकाउनुपर्ने चेतावनी


काठमाडौं, असोज २५ । राष्ट्रिय युवा संघ नेपालले चाडबाडको मुखमा नागरिकलाई राहत दिनुपर्नेमा उल्टै नागरिकको छातीमा गोली वर्षाउने सरकार मलुकलाई नचाहिने बताएको छ । रुपन्देहीको मोतिपुरमा सरकारले नागरिकको नरसंहार गरेको भन्दै युवा संघले यस्तो बताएको हो ।
मोतिपुर घटना राज्यद्वारा गरिएको नियोजित षडयन्त्र भन्दै संघका अध्यक्ष किरण पौडेलले आज विज्ञप्ति नै प्रकाशित गरी गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गर्नुभएको छ ।

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर ४ जनाको मृत्यु भएको घटनालाई लिएर युवा संघले गृहमन्त्रीको राजीनामा मागेको हो । गृहमन्त्रीकै गृह जिल्लामा चार जना सुकुम्बासीको गोली हानी हत्या गरिएपछि संघले सरकारी शैलीको बिरोध गरेको हो ।

संघले प्रहरीलाई गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उक्त घटनामा संलग्न रहेका दोषीमाथि कारवाही गर्नुपर्ने बताएको छ । संघले राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाको समेत ध्यानाकर्षण गराएको छ । संघले सरकारले घाइते र मृतकको प्रत्येक थोपा रगतको मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएको छ ।