बुटवल, असोज २६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको संगतले प्रधानमन्त्री शेरबहादुर देउवा लोकतन्त्रकै बिरुमा लागेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले एकपछि अर्काे आपत्तिजनक काम गरिरहेको र आफूहरुले जनतालाई जवाफ दिनुपरेको भन्दै सिंहले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
नेता सिंहका अनुसार देउवाले मन्त्रिपरिषद बिस्तारदेखि मोतीपुर घटना र माइतीघरमा खाना खाँदा खाँदै हिंसापीडित महिलालाई पक्राउ गरेर आफ्नो लोकतन्त्रबिरोधी सोचलाई बाहिर ल्याउनु भएको छ । नेता सिंहले मन्त्रिपरिषद् विस्तारमा सत्तागठबन्धनमा रहेका देउवासहितका सवै नेता र प्रधानन्यायाधीशले पनि जनतालाई स्पष्टीकरण दिनुपर्ने आफ्नो निश्कर्षसमेत सुनाउनु भयो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिए पनि जनतालाई यथार्थ कुरा बताउनुपर्ने सिंहको भनाइ थियो । उहाँले सरकार, सत्तारुढ दलभित्रका गठबन्धनका नेता र स्वयम् प्रधानन्यायाधीशले पनि हमालको विषयमा स्पष्टिकरण दिनुपर्ने बताउनु भयो ।
बुटबलमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले सभापति शेरबहादुर देउवाले गरेको कामको स्पष्टीकरण नेकपा माओवादी अध्यक्ष प्रचण्डले दिनुपरेको बताउनु भयो । ‘गल्ती सरकार विस्तारमा भयो अनि जवाफ चाहिँ हामीले दिनुपर्ने ?’ सिंहले भन्नुभयो, ‘प्रचण्डजीले कांग्रेसले हो भनेर स्पष्टीकरण दिनुपरेको छ, जनताले पत्याउनु पर्यो नि । यो विषयमा प्रधानन्यायाधीश पनि विवादमा तानिएकाले स्पष्टीकरण दिनुपर्छ ।’
नेता सिंहले प्रधानमन्त्री देउवालाई आफू प्रम हुँदा घटाएको आईजीपी काण्ड र प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउँदा कांग्रेसले भोग्नु परेको नतिजा सम्झन पनि अनुरोध गर्नुभयो । फरक प्रसंगमा उहाँले मोतिपुर घटनाको यथार्थ सार्वजनिक गर्न माग गर्नुभयो । गोली लागेर ४ जनाको ज्यान जानु दुःखद भन्दै उहाँले सरकारले मानव सुरक्षा गर्न नसकेको आरोप लगाउनु भयो । पैदल हिँडेर न्याय माग्न माइतीघर मण्डलामा आएकाहरुमाथि पुलिस लगाएको भन्दै उहाँले लोकतान्त्रिक पार्टीका सभापति तथा प्रधानमन्त्रीले यस्तो कामगर्न नसुहाउने बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्