जनता टाइम्स

२६ आश्विन २०७८, मंगलवार २२:५७

चीनको चाहना : एमाले-माओवादी फेरि एकजुट भएर जानुपर्छ


काठमाडौं, असोज २६ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रले एक भएर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन भन्ने चीनको चाहना रहेको बताउनु भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को १०० वर्ष पुगेको अवसरमा नेपाली नेताहरुको विचारसहितको किताबको आज भर्चुअल विमोचन गर्दै राजदूत यान्छीले यस्तो धारणा राख्नुभएको हो ।

‘मैले देखेको छु कि एमालेले भर्खरै आफ्नो प्रथम विधान महाअधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ र पार्टी निर्माणलाई सुदृढ पार्न नयाँ निर्णयहरु गरेको छ । माओवादीले पार्टीको नेतृत्व सुदृढ पार्न र पार्टीको संगठन सुधारमा केन्द्रित धेरै बैठकहरु पनि गरेको छ,’ राजदूत यान्छीले सम्बोधनको क्रममा भन्नुभयो । राजदूत यान्छीले ती क्रियाकलापहरुले दुई पार्टीहरुद्वारा पार्टी निर्माणसँग सम्बन्धी कामलाई महत्व दिएको देखाएको आफ्नो निश्कर्ष सुनाउनु भयो । ‘म चाहन्छु कि एमाले र माओवादी आफ्नो मौलिक आकांक्षामा साँचो रहन र आफ्नो मिसन दृढतासँग राख्नको लागि संयुक्त रूपमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सक्छ,’ राजदुत यान्छीले भन्नुभयो ।

भर्चुअल कार्यक्रममा एमालेका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री तथा प्रवक्ता प्रदीपकुमार ज्ञवाली र माओवादीका तर्फबाट पूर्वमन्त्री शक्ति बस्नेत सहभागी हुनुभएको थियो । राजदूत यान्छीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको भने कम्युनिष्ट पार्टीको रुपमा नामै उच्चारण गर्नुभएन । उहाँले एमाले र माओवादीको मात्रै नाम लिनुभएको हो । ‘नेपाल डायलग फोरम’ ले आयोजना गरेको उक्त कार्यक्रममा चिनियाँ राजदूत यान्छीले एक पटक मिलेका दुई कम्युनिष्ट पार्टीलाई फेरि मिलेर कम्युनिष्ट आन्दोलनसँग मिलेर लानको लागि आह्वान पनि गर्नुभयो ।

कार्यक्रममा एमाले सचिवसमेत रहनुभएका प्रवक्ता ज्ञवालीले छोटो समयमै मित्रराष्ट्र चीनले हासिल गरेको समृद्धि कम्युनिष्ट पार्टीको लागि परीक्षा भएको उल्लेख गर्नुभयो । माओवादीका नेता बस्नेतले एक सय वर्षमा चीनले हासिल गरेको सफलताको विषयमा चर्चा गर्नुभएको थियो ।