जनता टाइम्स

२६ आश्विन २०७८, मंगलवार २३:०८

अगाडिको टायर पञ्चर भएर भीरबाट खस्यो बस, चालकसहित मृतकको संख्या ३२ पुग्यो


खड्क सुनार, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुबाहक बस दुर्घटना मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ । दुर्घटनामा २८ जनाको घटनास्थलमै र उद्धारका क्रममा र ४ जनाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

‘उपचारका लागि १५ जना बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र कोहलपुर शिक्षण अस्पताल पठाइएको हो । उपचारका क्रममा चारजनाको मृत्यु भएसँगै मृतकको संख्या ३२ जना पुगेको छ,’ उहाँले भन्नुभयो । तीन जनाको नेपालगन्ज मेडिकल कलेजमा पुर्‍याएलगत्तै मृत्यु भएको कलेजका सहनिर्देशक डा. रोमान किडवाईले जानकारी दिनुभयो । उहाँकाअनुसार एक जनाको कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी महतकाअनुसार दुर्घटनामा चालकको पनि मृत्यु भएको छ । अहिले मृतकको शवलाई जिल्ला अस्पतालमा राखेर सनाखत भइरहेको छ । ‘शवहरु अस्पतालमा आफन्त आएर पहिचान गरिरहेका छन,’ उहाँले भन्नुभयो ।

नेपालगन्जबाट सदरमुकाम गमगढी आउँदै गरेको बस आज मंगलबार अपराह्न पिना झ्यारीखोलामा दुर्घटना भएको थियो । बसको चालक साइडको पाग्रा पञ्चर भएर अनियन्त्रित भई भीरमा खसेर दुर्घटना भएको महतले बताउनु भयो । ‘पञ्चर भएपछि बस बल्ड्याङ्ग खाँदै करिब २ सय मिटर तल खसेको थियो,’ उहाँले भन्नुभयो, ‘बस स्पिडमा थिएन । टायर पञ्चर भएर अनकन्ट्रोल भई खसेको हो ।’ बसमा चालकरसहचालकसहित ४५ जना सवार थिए ।